Sunday 6 October 2024 / आईतवार, २० आश्विन २०८१

ढोरपाटन (बागलुङ), एक वर्षदेखि निर्माण व्यवसायी सम्पर्कविहीन बनेपछि अलपत्र बनेको बोङ्गाखोला पुलको काम थालिएको छ ।

बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा निर्माणाधीन मोटरेबल पुलको काम गत चैतदेखि रोकिएको थियो । पुल निर्माणको जिम्मा पाएको कान्तिपथ कन्ट्रक्सनले अहिले पेटी ठेकेदारलाई काम गर्ने जिम्मा दिएपछि निर्माण सुरु भएको हो । निर्माण कम्पनी समय–समयमा सम्पर्कविहीन हुँदा करोडौँको योजना अलपत्र पर्दै आएको थियो ।

विसं २०७७ पुस १६ गते सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरी काम सुरु भएको थियो । विसं २०७९ चैत ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म करिब ५१ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । दुई वर्षमा निर्माण गरि सक्नुपर्ने पुल समयावधिसम्म नसकेपछि गत वर्ष चैत ३० गते एक वर्षका लागि म्याद थप गरेको सडक डिभिजन कार्यालयका इञ्जिनियर अमर अधिकारीले बताउनुभयो ।

निर्माण कम्पनीको म्याद अब पाँच महिनामात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो । पुल निर्माणका लागि रु तीन करोड १० लाख ६८ हजार एक सय १३ लागत अनुमान गरेकामा निर्माण कम्पनीले रु दुई करोड ७१ लाख २७ हजार नौ सय ६४ मा जिम्मा लिएको इञ्जिनियर अधिकारी बताउनुहुन्छ । पाँच महिनाको अवधिमा मजदुर लगाएर धमाधम काम गरेमात्रै सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।

अहिले खोलाको दुईपट्टि पिल्लर मात्रै ठडिएका छन् । त्यसबाहेक पुलको कुनै पनि काम हुन सकेको छैन । ठडिएका पिल्लर पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । हरेक वर्ष वर्षात्का समयमा बोङ्गाखोलामा पानीको बहाव बढेर आउने हुँदा यातायात सञ्चालन हुन सक्दैनन् । यस वर्ष पनि असारदेखि ठप्प भएका सवारीसाधन कात्तिक लागेपछि मात्रै सञ्चालनमा आएका हुन् । अहिले पुल निर्माणका लागि पेटी ठेकेदार बलराम पौडेलले जिम्मा लिनुभएको छ । उहाँले आगामी वैशाखमै काम सक्ने गरी कामदार लगाएको बताउनुभयो ।

पौडेलले भन्नुभयो, “मैले यो ठाउँमा धेरैपटक काम गरेको छु, यो पहिले नै सकिनुपर्ने काम रहेछ, यो पुलको जिम्मा पाएको निर्माण कम्पनीका प्रमुखले म अहिले समस्यामा छु, तपाईंले यो काम गर्नुप¥यो भनेपछि मैले जिम्मा लिएको हुँ, अब धमाधम काम हुन्छ, सकेसम्म वैशाख नभए पनि जेठसम्म यसको सबै काम सकिएर पुलमा गाडी गुड्छ ।”

बोङ्गाखोलामा पुल नबन्दा तमानखोलाका वडा नं १ र २ का केही गाउँबाहेक अन्य वडाका नागरिक बर्खामा पालिकासम्म सिधा यातायात गर्न पाउँदैनन् । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले लामो समयसम्म निर्माण कम्पनीले काम नगर्दा यहाँका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताउनुभयो । अहिले पेटी ठेकेदार आएर काम सुरु गर्न थालेपछि पुल बन्ने आशा पलाएको उहाँको भनाइ छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय