
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को दोस्रो राष्ट्रिय परिषद्को बैठक आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । आजदेखि दुई दिनसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चल्ने परिषद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुहुने बैठकले विधान संशोधन गरेपछि त्यसलाई अनुमोदन गरिने छ । नयाँ विधानका आधारमा आगामी जेठमा पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।
पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न र केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई परिषद् बैठकमा प्राथमिकता दिइने भएको छ । पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकतामा राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।