अमेरिकाको न्यूयोर्क भैराखेको WFUNA International Model UN (WIMUN) मा सहभागी स्वस्तिश्री गुरुकुल आई.बी. वर्ल्ड स्कुलका २० विद्यार्थीहरुको टोलीले आफ्नो गर्विलो र उत्कृष्ट उपस्थिति राखेका छन् ।

प्रतिष्ठित संयुक्त राष्ट्र महासभा हलमा आयोजित कार्यक्रममा ४७ भन्दा बढी देशहरूको सहभागिता रहेको छ जसमा विश्वका बिभिन्न बिद्यालयबाट सहभागीहरुले विश्वव्यापी जल्दाबल्दा मामिलाहरूमा घनिभूत छलफल गर्नेछन् । स्वस्तिश्रीबाट सहभागिता जनाईराखेकी छात्रा सियारा सुभाङ्गिनी बजगाई कार्यक्रममा पूर्ण वक्ताको रूपमा छनोट भएकी थिईन् ।
साधारण सभा हलमा सम्बोधनका क्रममा अमेरिकाको प्रतिनिधित्व गर्दै सियाराले अमेरिकाको विभिन्न मुद्दाहरुमा आफ्नो गर्विलो विचार राखेकी थिईन् । उनले ‘विश्वका जल्दाबल्दा मुद्धाहरुमा अन्य देशहरूसँग सहकार्य गर्न अमेरिका इच्छुक रहेको र अमेरिकाले विश्वका अन्य देशहरुका लागि के गरिरहेको छ’ जस्ता बुँदाहरू हाइलाइट गर्दै आफ्ना विचारहरु राखेकी थिईन् । WFUNA International Model UN मा स्वस्तिश्रीका विद्यार्थीहरूले विभिन्न समिति र देशहरुको प्रतिनिधित्व गर्दै सक्रिय रूपमा भाग लिइरहेका छन् ।

विश्वव्यापी विचारणीय बिभिन्न मुद्दाहरूका बहसमा संलग्न भईराखेका छन् । WIMUN मा पहिलोपल्ट भएको यो सहभागिता स्वस्तिश्रीको लागि एक महत्वपूर्ण कोसेढुङ्गा हो । “यस्ता स्वदेशी र अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रममा सहभागी गराएर आफ्ना विद्यार्थीहरूमा विश्वव्यापी सोच, नेतृत्व कौशल, सिकाई आदान प्रदानका अवसरहरू प्रदान गर्न विद्यालय संधै प्रतिबद्ध रहेको” कुरा WIMUN मा बिद्यार्थीहरुको नेपालबाट प्रतिनिधित्व गरिराख्नुभएकी बिद्यालयकी प्राचार्य नेहा केसीले बताउनुभयो । स्वस्तिश्री गुरुकुल आई.बी. वर्ल्ड स्कुलका २० विद्यार्थीहरुको टोली WIMUN सहभागिता पछि बोस्टन, पेन्सिभिनिया, वासिङ्टन डी.सी. लगायत क्षेत्रका शैक्षिक प्रतिष्ठानहरुको अध्ययन भ्रमण र अन्य महत्वपूर्ण कार्यक्रमहरुमा पनि सहभागी हुनेछन् ।


