Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

काठमाडौँ, विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक भारत रङ्ग महोत्सवको २३औँ संस्करणमा छानिएको नाटक ‘क्लेशाः’ को विशेष मञ्चन नेपालमा गरिएको छ ।

महोत्सवमा सहभागी हुनुअघि माघ २९ र फागुन १ मा काठमाडौँस्थित मण्डला नाटकघरमा मञ्चन गरिएको निर्देशक विजया कार्कीले जानकारी दिनुभयो । “विशेष मञ्चनपछि आज करमन कला समूहको नाट्य टोली भारत प्रस्थान गर्दैछौँ । हामी भारतकै प्रतिष्ठित मानिने महोत्सवमा मञ्चन गर्ने कुराले उत्साहित भएका छौँ । कोभिडका कारण सहभागी हुन नपाएको नाटकले पुनः त्यो अवसर पाएको छ”, उहाँले भन्नुभयो ।

भारतको नाट्य प्रज्ञा–प्रतिष्ठान मातहत रहेको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी)ले वार्षिक रुपमा आयोजना गर्ने महोत्सवमा यसपटक ६२ नाटक मञ्चन गरिनेछ । गत माघ १८ देखि सुरु भएर यही फागुन १४ गतेसम्म हुने महोत्सवमा ‘क्लेशाः’ फागुनको ५ र ७ गते मञ्चन हुनेछ ।

प्रतीक्षा कट्टेलले लेख्नुभएको नाटक ‘क्लेशाः’को मुख्य स्रोत रामायण हो । यसले ऋषि वाल्मीकिको कथालाई समसामयिक रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । ‘क्लेशाः’का पाँच तत्व अज्ञानता, अहङ्कार, मोह, विच्छेद र डरको दार्शनिक पृष्ठभूमिसहित नेपालको एक दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेश नाटकमा समावेश गरिएको लेखक कट्टेलले बताउनुभयो ।

नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोशनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाइँ, मिलन कार्की, सुजन खतिवडा, सविना थापा, रुजा राउतलगायत कलाकारले अभिनय गर्नुभएको छ । उक्त महोत्सवमा नेपालबाट छानिएको यो एक मात्र नाटक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय