Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

पर्वत, पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँस्थित चितिपानीमा रहेको ध्रुव नमुना माविलाई आवासीय विद्यालयका रुपमा सञ्चालन गरिने भएको छ । आगामी शैक्षिकसत्रदेखि बालकक्षादेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आवासीय सुविधा दिन थालिएको हो ।

गत माघ २५ गते भएको अभिभावक भेलाले विद्यालयबाट गुणस्तरीय र प्रभावकारी शिक्षा दिनका लागि आवासीय बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो । यही फागुन २ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले आगामी शैक्षिकसत्र (२०८१) देखि बालकक्षादेखि कक्षा १० सम्म यातायातको सुविधासहित आवासीय विद्यालयका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

विद्यालयमा असहाय, अनाथ, टुहुरा, विपन्न, गरीब तथा जेहेन्दार विद्यार्थी एवं अन्य इच्छुक बालबालिकालाई निःशुल्क आवास साथै खाना, पोशाक र स्टेशनरी सुविधा दिएर आवासीय बनाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भर्ना हुन आउने सबैको गरेर आवासीय सुविधा उपलब्ध गराइने छ ।

विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेपछि उक्त विकल्प निकालिएको पौडेलले बताउनुभयो । “प्रत्येक वर्ष विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको आकर्षण बढाउनका लागि आवासीय सुविधाको योजना ल्याएका हौँ ।” उहाँका अनुसार मावि तह सञ्चालन भएको यस विद्यालयमा अहिले ४० जना विद्यार्थी छन् ।

विभिन्न अवसरको खोजीमा युवापुस्ताले गाउँ छाडेपछि विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको स्थानीय जनप्रतिनिधि गिरिराज शर्माले बताउनुभयो । निजी विद्यालय जस्तै अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने, शिक्षकको क्षमता विकास गर्ने, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउनका लागि आवासीय विद्यालयको अवधारणा ल्याइएको उहाँको भनाइ थियो ।

आगामी शैक्षिकसत्रदेखि बालकक्षादेखि कक्षा १० सम्म नै भर्ना हुने नयाँ वा पुराना विद्यार्थीलाई आवासीय सुविधा दिइने भएको छ । विद्यालयले दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराउने, सम्पूर्ण विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र खाना, खाजाको व्यवस्थासमेत निःशुल्क गर्ने प्रधानाध्यापक झलक शर्मा पौडेलले बताउनुभयो । उहाँका अनुसार खेलकुद सामग्री र स्वच्छ खानेपानीको व्यवस्था हुनेछ ।

विद्यार्थीलाई साप्ताहिकरूपमा अतिरिक्त क्रियाकलापको व्यवस्था गर्ने, कक्षा ६ देखि १० सम्म कम्प्युटर विज्ञानको कक्षा सञ्चालन गर्दै आइएको छ । यहाँ विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र पुस्तकालयकोसमेत व्यवस्था रहेको उहाँले बताउनुभयो ।

आर्थिक अभावले विद्यालय तथा शिक्षाबाट वञ्चित बनेका मुलुकभित्रका जुनसुकै जिल्लाका असहाय, अनाथ, विपन्न, गरीब तथा जेहेन्दार विद्यार्थीले यहाँ अध्ययन गर्नसक्ने प्रअ पौडेलले जानकारी दिनुभयो । सबै सुविधा निःशुल्क हुने भएकाले पढाइबाट वञ्चित बालबालिकालाई अभिभावकले सहजीकरण गरेर विद्यालयसम्म ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आवासीय सुविधा सञ्चालनका लागि फलेबास नगरपालिकालगायत विभिन्न सरोकारवाला पक्षसँग स्रोतको खोजी भइरहेको विद्यालयले जनाएको छ । यसअघि पर्वतको महाशिला गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा पूर्णकालीन तथा आंशिक आवासीय सुविधा दिएर सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय