Saturday 4 July 2026 / शनिबार, २० असार २०८३

काठमाडौं – कोरोनाभाइरसको संक्रमणको दोस्रो लहर बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विद्यालय बन्द नगरी बरु संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ ।

विगतको बन्दाबन्दी पश्चात विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरि तयार गरेको कार्यढाँचा अनुसार शिक्षालयहरूका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको उल्लेख गरिएको छ । ‘आवश्यकता अनुसार शिक्षालयहरूमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयहरूमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

प्याब्सनले विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट सबै ठाउँमा पठनपाठन सञ्चालन गर्न सम्भव नरहेको पनि स्पष्ट पारेको छ । ‘नेपालको भौगोलिक विकटता, अभिभावकहरुको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धताको अभाव, शिक्षकहरुको प्राविधिक दक्षता जस्ता कारणले नेपालको सामुदायिक तथा सार्वजनिक शिक्षालयमा मात्र नभएर निजी शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुको पनि ५० प्रतिशत क्षेत्र अनलाईन शिक्षाले समेट्न नसक्ने कुरा विगतको बन्दाबन्दीमा गरिएको प्रयोगले प्रमाणित गरि सकेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अतः कोरोना संक्रमण र यसको प्रभाव न्यूनीकरणका लागि नेपाल सरकारले तयार गरेको स्वास्थ्य सावधानी सम्बन्धी उपायहरूलाई हरेक क्षेत्रमा कडी कडाउका साथ लागु गर्न गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारका सम्बन्धित निकायहरूलाई जिम्मेवारी सहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता हुनुपर्छ ।’

कोरोनाको दोस्रो लहरले १८ वर्ष मुनिका बालबालिकाहरु समेत प्रभावित हुन सक्ने पुष्टि भइरहँदा र बालबालिकाहरुका लागि भ्याक्सिनको परीक्षण समेत भइनसकेको सन्दर्भमा उक्त समूहलाई संक्रमित हुनबाट जोगाइराख्न अपनाउनु पर्ने स्वास्थ्य सावधानीका सन्दर्भमा आफूहरु अत्यन्त गम्भीर रहेको पनि प्याब्सनले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय