Saturday 4 July 2026 / शनिबार, २० असार २०८३

काठमाडौं – देशमा कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन् ।

सोमबार मन्त्रालयमा आयोजित छलफलमा सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा शिक्षण संस्था कसरी सञ्चालन गर्ने भन्नेबारे सरोकारवालाहरुसँग छलफल आयोजना गरिएको हो ।

स्थानीय तहका प्रतिनिधिले पनि शिक्षण संस्थामा बेलाबखत निगरानी गर्ने, कुनै शिक्षण संस्थामा संक्रमण प्रकाशमा आएको खण्डमा सोही शिक्षण संस्थालाई निश्चित अवधिका लागि बन्द गर्न सकिने लगायतका विषयमा सुझाव दिँदै समग्र शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्ने सुझाव राखेका थिए ।

आजै बस्ने मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा केही महत्वपूर्ण निर्णय गर्नसक्ने स्रोत बताउँछ । शिक्षा मन्त्रालयले भने सरोकारवालाहरुसँगको छलफलबाट निस्किएको निष्कर्षलाई मन्त्रीसमक्ष ब्रिफिङ गरेर मन्त्रिपरिषदमा आवश्यक प्रस्ताव लैजाने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय