Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं, राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित कथामा बनेको फिल्म ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिट्टै प्रदर्शन मिति घोषणा गर्ने बताए ।

पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट अञ्जिलाको ग्रामीण जीवनदेखि खेल मैदानसम्मको यात्रा चलचित्रमा रहेको अनुमान गर्न सकिन्छ । अभिनेता राईको भूमिकाबारे भने पोस्टरले केही बोलेको छैन । अञ्जिलाकै जन्मथलो इलामको आइतबारसहित झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन भएको छ । यो चलचित्रमा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतको पनि अभिनय रहनेछ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ ।

अञ्जिला संघर्षमा आधारित कथा भए पनि उनको बायोपिक नभएको चलचित्र निर्देशक चाम्सले स्पष्ट पारेका छन् । उनले भने, ‘७५ प्रतिशत अञ्जिलाकै जीवनी हुने तर बायोपिक भने होइन ।’

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रका सह(निर्माता विनोद अग्रवाल र राजेश बगडिया हुन् । चलचित्रका सम्पादकको जिम्मेवारीमा मिलन श्रेष्ठ छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय