Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौँ, शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘रङ्गेली’को पुनः सम्पादन गरी लम्बाइ घटाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाइसहित हलमा प्रदर्शनमा आएको यो फिल्म सोमबार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शनमा आएको छ ।

फिल्मका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै फिल्मको लम्बाइ घटाइएको बताए । ‘दर्शकको राम्रो प्रतिक्रियाको बाबजुद फिल्म केही लामो भएको महसुस भएको प्रतिक्रिया पनि आइरहेका छन् । यसलाई केही घटाउँदा र ‘फास्ट कटिङ’ गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात गर्दै करिब २१ मिनेट घटाइ २ घण्टा ३० मिनेटमा झारिएको छ’, निर्देशक सुवेदीले भने, ‘हामीले प्रत्यक्ष रूपमा दर्शकलाई भेट्दा फिल्मको लम्बाइ घटाउनु पर्ने सुझाव आएकोमा दर्शकको चाहना अनुरूप नै लम्बाइ घटाएका हौँ । अब दर्शकको भावना अनुरूप पुनः सम्पादन भएको फिल्म हलमा आएको छ ।’

पहिलो पटक फिल्म निर्देशन गरेका अर्जुनले दर्शकले सुस्त र लामो लाग्ने फिल्म हेर्न नचाहने रहेछन् भन्ने थाहा भएको बताए । उनले भने, ‘मैले पहिलो पटक फिल्म बनाएको हुँ । दर्शकको चाहना के हुने रहेछ भनेर पनि बुझ्ने अवसर पाएको छु । मुख्य कुरा त फिल्म बनाउन भन्दा हलमा चलाउन निकै मुस्किल रहेछ भन्ने महसुस गरेको छु ।’

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगर शीर्ष भूमिकामा छन् । साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय