Sunday 6 October 2024 / आईतवार, २० आश्विन २०८१

हुम्ला, जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दादुरा रुवेला विरुद्धको खोप बिहीबारबाट सुरु भएको छ । जिल्लामा अन्य गाउँपालिकामा फागुन २५ गतेबाट सुरु भएपनि हिमपातले आउजाउ गर्ने अधिकांश खोप केन्द्रको बाटो बन्द भएको कारण खोप कार्यक्रम पछि सारिएको थियो ।

नाम्खा गाउँपालिकामा चैत्र १ गते बिहीबार सुरु भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताउनुभयो । हिमपातले बाटो अवरुद्ध भएपछि स्वास्थ्यकर्मी भ्याक्सिन लिएर जान नसक्ने भएको कारण खोप कार्यक्रम पछि सारिएको हो । उहाँले १४ वटा खोप केन्द्रमा जाने बाटो खुलेपछि दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम सुरु भएको बताउनुभयो । शाखाले भ्याक्सिन बुझेको भएपनि स्वास्थ्यकर्मी खोप केन्द्रसम्म जान हिउँ जमेको बाटोले अवरोध गरेपछि खोप कार्यक्रम सुरु नभएको हो । नाम्खा गाउँपालिकामा १६८ जना खोप लगाउने बालबालिका छन् ।

‍लिमीमा वैशाखअघि खोप कार्यक्रम नहुने

गाउँपालिकाका अन्य खोप केन्द्रमा दादुरा रुवेला विरुद्धको खोप सुरु भएपनि लिमीमा भने सुरु हुन सकेको छैन । हाल लिमीको हल्जी गाउँमा रहनुभएका लिमी स्वास्थ्य चौकीका इन्चार्ज गोर्ख भण्डारीले पहिलो पटक आफू लिमी मै बसेर सेवा प्रदान गरी रहेको भएपछि यस पटक दादुरा रुबेला विरुद्धको खोप लगाउन नसकिएको बताउनुभयो । उहाँले लिमी आउने दुवै नाका चार हजार छ सय मिटर अग्लो नाना र पाँच हजार मिटर अग्लो न्यालु नाका हिमपातले बन्द भएको कारण भ्याक्सिन ढुवानी गर्न नसकिएको कारण खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

यो खोप मात्र नभएर बालबालिकाले नियमित रूपमा लगाउने अन्य खोप पनि लगाउन नसकिएको हो । लिमीका तीन तील, हल्जी र जाङ गाउँमा तेह्र जना यो खोप लगाउने बालबालिका छन् । यो समस्या अगाडी नै जानकारी भएपनि लिमीका लागि भ्याक्सिन ढुवानीका लागि हेलिकोप्टरको व्यवस्थाका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरिएको भएपनि त्यो व्यवस्था हुन सकेन। अब बाटो खुले पछि मात्र लिमीका बालबालिकालाई खोप लगाउने कार्य हुने छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय