काठमाडौं,सोमबार चैत्र ३० गते साँझ होटल सोल्टी क्राउन प्लाजाको मेघा मल्हार प्रेक्षालयमा नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औं ब्याचका ७९ जना विद्यार्थी डिजाइनरहरुको सृजनशीलता र परिकल्पनामा पोखिएका अनेकन् सुन्दर एवं आकर्षक पहिरनहरुका स्वरुप र शैलीहरुलाई अवलोकन गर्न पाइयो ।

यस पटकको ग्राजुएसन फेसन शोले नारीको साहस, आत्मविश्वास, क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्यता, धैर्यता, निर्भिकता, निडरता, विनम्रता लगायतका नारी जीवन र व्यक्तित्वका बहुआयामिक गौरवशाली पक्षहरुलाई ‘अस्तित्व’ शीर्षक अन्तर्गत आठ वटा विभिन्न सिक्वेन्स मार्फत् पहिरनका विभिन्न स्वरुप, डिजाइन र शैली मार्फत् उजागर गरिएको थियो ।

७९ वटा पहिरनहरुमा चाहे त्यो फ्याब्रिकको छनौट होस् वा रंगको समिश्रण, डिजाइन र शैलीको विविधता होस् हरेक पहिरनले नारी व्यक्तित्वलाई आकर्षक ढंगबाट प्रस्तुत गरेको देख्न पाइयो । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको अन्तिम परिक्षा अन्तर्गतको उक्त फेसन शोको अर्को महत्वपूर्ण पाटो मास्कको फेसन पनि रह्यो ।

हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मंचमा उत्रिंदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको थियो । यस बाहेक सो फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पूतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता संचार भएको थियो ।

नमूना कलेज अफ फेसन टेक्नोलजीका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसंगै शुभारम्भ भएको उक्त फेसनमय यात्रा कार्यक्रमका कोरियोग्राफर रोजिन शाक्यको रनवे हिंडाई पछि बिट मारेको थियो । उक्त फेसन कार्यक्रममा २० जना युवती मोडलहरुले प्रस्तुति दिएका थिए । जस अन्तर्गत आधाप्रतिशत व्यवसायिक मोडलहरु थिए भने आधा प्रतिशत नमूना कलेजमै विभिन्न सेमेष्टरमा अध्ययरनत विद्यार्थी डिजाइनरहरु थिए ।









































तस्वीरहरु ः प्रदीपराज वन्त


