
काभ्रे, काभ्रे जिल्लाको पनौती नगरपालिका– ५ नैकिनटारबाट खैरोहेरोइनसहित एक युवक पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा लागूऔषध ब्यूरो, जिल्ला प्रहरी कार्यालय काभ्रेका र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले युवकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार पनौति–५ का ४१ बर्षीय नकुलप्रसाद तिमिल्सिना अन्दाजी ३८ ग्राम खैरोहेरोइनसहित पक्राउ परेका हुन्।
लागूऔषध ब्यूरोले खैरो हेरोइनसहित पक्राउ अर्का एक व्यक्तिलाई सोधपुछ गर्ने क्रममा उनले आफूले तिमिल्सिनासँग खरिद गरी ल्याएको बताएपछि प्रहरीले तिमिल्सिनालाई पक्राउ गरेको हो।
तिमिल्सिनाको कोठामा छापा मार्दा खैरोहेरोइनजस्तो देखिने ३८ ग्राम वस्तु, डिजिटल तराजु एक थान, ३० हजार नगद, निजको नामको नागरिकता र मोबाइल २ थान बरामद भएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ।