Saturday 13 April 2024 / आईतवार, २ बैशाख २०८१

काठमाडौँ, रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज अपराह्न १ बजेतिर आइएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

घटना संलग्न भारत विहार पूर्वी चम्पारण मोतिहारी दीपही–२ बस्ने १८ वर्षीय किशोरसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काउन्टरमा काम गरिरहेको अवस्थामा उनीहरुले सञ्चालक साहमाथि गोली प्रहार गरी फरार भएका थिए । गोली प्रहारबाट मनि ट्रान्सफर सञ्चालक साह घाइते हुनुभएको छ । प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपश्चात उहाँलाई वीरगन्ज रिफर गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रस्थित घिउरा नाकामा खटिइएका सशस्त्र प्रहरी हवल्दार लक्ष्मणसिंह ठगुन्नासहितको टोली र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब निरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुका साथबाट एक नाल कटुवा पेस्तोल र बिआर ०६ सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय