Friday 21 March 2025 / शुक्रबार, ८ चैत्र २०८१

काठमाडौं, नेपालको बहुचर्चित र विशेष गरी नेवाः समुदायको हरेक जात्रा पर्वमा बजाइने धिमे बाजाको संरक्षण तथा प्रवर्द्धन गरी नयाँ युवापुस्तालाई आकर्षण गर्ने हेतुले “बागमती प्रदेश स्तरीय धिमेबाजा प्रतियागिता ११४४” को आयोजना हुने भएको छ ।

शनिबार भक्तपुरको च्वङागणेशस्थित नेवा नःनिमा पत्रकार सम्मेलन गरी केन्द्रीय मानन्धर संघको आयोजना र भक्तपुर जिल्ला मानन्धर युवासंघको संयोजना चैत्र २४ गते धिमे बाजा प्रतियोगिता सञ्चालन गराउन लागिएको मानन्धर संघले जनाएको छ ।

प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले आर्थिक लागत साझेदारी गर्ने र प्रतियोगिता भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा हुने बताइएको छ । प्रतियोगितामा बागमती प्रदेश भित्रका खलः, पुचः र संस्थाबाट ५० वटा धिमेबाजा समूहको सहभागी गराउने योजना रहेको कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला मानन्धर युवासंघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिनुभयो ।

प्रतियागितामा प्रथम हुनेलाई २ वटा धिमे, २ जोर भूस्यासहित नगद रु २५ हजार, दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भूस्यासहित नगद रु १५ हजार, तेस्रो हुनेलाई १ वटा धिमेसहित नगद रु १० हजारबाट प्रदान गरिने छ भने दशौं स्थान प्राप्त गर्ने प्रत्येक समूहलाई १ जोर भूस्या प्रदान गर्ने गरी व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट भेषभुषा र बाजाको बोलमा गरिएको हाउभाउको मुल्यांकन गरी उत्कृष्ट पुरस्कारको व्यवस्था गर्नुका साथै प्रतियोगितामा सहभागी सबै टिमलाई प्रशंसा पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुने समयसीमा चैत्र १६ गते शुक्रबार सम्म तोकिएको छ । प्रतियोगितामा सहभागी हुन काठमाडौंका लागि केन्द्रीय मानन्धर संघ क्षेत्रपाटी, भक्तपुरको लागि मानन्धर व्यायाम मन्दिर साकोलान, थिमिको लागि टि.भि. प्वाईट शंखधर चोक र बनेपाको लागि वांख्यो दाफा भजन खलः बनेपामा सम्पर्क राखी सहभागी हुन चाहनेले सम्पर्क गर्न सक्नेछन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय