
काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको पर्यटकीय नगरी धुलिखेलमा सुरु भएको छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।
शनिबारको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले हराएको हो । धुलिखेल खेल मैदानमा सञ्चालित खेलमा आर्मीलाई जितको अग्रता दिलाउन सीमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले एक–एक गोल गर्नुभएको थियो । आर्मीको तर्फबाट खेलको २१औँ मिनेटमा सीमाले पहिलो गोल गर्नुभयो भने डम्मराले खेलको ५०औँ मिनेटमा र सरस्वतीले खेलको ५६आँैं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाउन सफल हुनुभएको थियो । उक्त जितबाट प्रतियोगितामा आर्मीले तीन अङ्क जोडेको छ ।
प्रतियोगिताअन्तर्गत शनिबारनै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग एक÷एक गोलको बराबरीमा खेल सकिएको थियो । खेलमा लुम्बिनीका लागि अनन्या बड्नवालले खेलको सातौँ गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । मधेसका तर्फबाट भने खेलको ४०औँ मिनेटमा आररतीकुमारी महतोले एक गोल गर्दै टिमलाई बराबरीमा ल्याउनुभएको हो । यस खेलबाट लुम्बिनी र मधेस प्रदेशले एक÷एक अङ्क जोडेका छन् । प्रतियोगिताअन्तर्गत आज चार खेल हुनेछन् । पहिलो खेलमा आर्मी क्लबले बागमती प्रदेशसँग र दोस्रो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशसँग प्रतिस्पर्धा हुनेछ । यस्तै गण्डकी र बागमती प्रदेशबीच तेस्रो खेल तथा अन्तिम खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमसँग प्रतिस्पर्धामा उत्रनेछ ।
बुधबारसम्म सञ्चालित उक्त प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका छ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल सञ्चालित छ । प्रतियोगितामा पहिलो हुने टिमलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार र तेस्रो हुनेलाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने हरेक खेलका ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजार नगद प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट डिफेन्डर, गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीले जनही रु १० हजार नगद पुरस्कार पाउनेछन् ।