Saturday 29 August 2026 / आईतवार, १४ भाद्र २०८३

कास्की- खेलकूद पर्यटनको शहर पोखरामा खेलकूद प्रशिक्षण तथा प्रतियोगिता सञ्चालमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समितिले आज संयुक्तरुपमा एक सूचना जारी गरी यही वैशाख ९ गतेदेखि लागू हुने गरी वैशाख मसान्तसम्मका लागि रङ्गशालामा खेलकूद गतिविधि सञ्चालनमा रोक लगाएको जनाइएको छ ।

कोरोना सङ्क्रमणको सम्भावित दोस्रो लहरबाट सजकता अपनाउनका लागि राष्ट्रिय खेलकूद परिषद्(राखेप)को निर्देशनमा वैशाख मसान्तसम्मका लागि सबै खेलका प्रशिक्षण तथा प्रतियोगिता गर्न बन्द गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताउनुभयो ।

उहाँका अनुसार सरकार र राखेपको निर्णयानुसार रङ्गशालामा खेलकूद तथा दैनिक सञ्चालन भइरहेका खेलकूद प्रशिक्षण नगर्न सबैमा सूचना जारी गरिएको हो । समितिले अन्तरराष्ट्रिय सहभागिताका लागि सञ्चालित बन्द प्रशिक्षण र पोखरा रङ्गशालाभित्र निर्माणाधीन खेल पूर्वाधारका लागि भने आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन हुने जनाएको छ । पोखरा रङ्गशालाभित्र देशकै सबैभन्दा ठूलो २० हजार दर्शक क्षमताको फुटबल रङ्गशाला निर्माण अन्तिम चरणमा छ ।

खेलकूद गतिविधिसँगै सर्वसाधारणलाई रङ्गशालाभित्र प्रवेशमा समेत रोक लगाइएको छ । गत वर्ष चैतदेखि मङ्सिरसम्म खेलकूद गतिविधि ठप्प रहेको रङ्गशालामा पछिल्लो पाँच महीना फुटबल, क्रिकेट, भलिबललगायतका खेलका प्रतियोगिता आयोजना गरिएको थियो ।

लामो समयको शून्यतापछि विस्तारै चहलपहल बढेको रङ्गशालामा पुनःकोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले सबै प्रकारका खेलकूद प्रतियोगिता र प्रशिक्षणमा रोक लगाउने निर्णयपछि खेलाडी तथा खेलकूदकर्मी निराश बनेका छन् । खेल क्षेत्रमा कोरोनाको प्रभाव परेपछि यसै वर्ष गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदको तयारीसमेत प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय