Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

फुङ्लिङ (ताप्लेजुङ), ताप्लेजुङमा पर्यटन प्रवर्द्धनका लागि आजदेखि ‘पर्यटन महोत्सव’ सुरु भएको छ । यही जेठ ७ गतेसम्म सञ्चालन हुने महोत्सवले पर्यटक प्रवर्द्धन गर्नुका साथै स्थानीय कला, संस्कृति तथा वस्तुको प्रचारप्रसार गर्ने उद्देश्य राखेको छ । जिल्ला तथा नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा, कञ्चजङ्घा, फुङफुङेलगायत पर्यटकीय स्थानको प्रचारप्रसार तथा पहिचानका लागि महोत्सव अयोजना गरिएको महोत्सव सञ्चालन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताउनुभयो । “विसं २०६३ देखि सञ्चालन भएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव कोरोनाका कारण बीचमा दुई वर्षसम्म हुन सकेन”, उहाँले भन्नुभयो ।यस वर्ष विगतका वर्षमा झै म्याराथन हुने सञ्चालक समितिका सदस्यसचिव देवराज गुरुङले बताउनुभयो । उहाँका अनुसार आज पहिलो दिन उद्घाटन र अन्तरपालिकास्तरीय चौथो मेयरकप भलिबल प्रतियोगिता हुनेछ ।

महोत्सवमा कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, डोको क्यारी रन (पुरुष), टपरी बुन्ने, डोको बुन्ने, वक्तृत्वकला प्रतियोगिता, लोक सांस्कृतिक कार्यक्रम गरिने आयोजक समितिका संयोजक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार म्याराथन दौड तथा हाफ महिला म्याराथन दौडसमेत हुनेछ । पाथीभरा म्याराथन, पर्यटन महोत्सव तथा विभिन्न कार्यक्रमका लागि करिब रु ८० लाख खर्च हुने अनुमान गरिएको गुरुङले बताउनुभयो । पर्यटन मन्त्रालय र पर्यटन बोर्डबाट रु २० लाख बजेट माग गरिएको भन्दै बाँकी रकम विभिन्न दाता सङ्घसंस्थाबाट जुटाइने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय