शव्द÷ तस्बिरहरुः नवीन लोचनमगर
रोल्पा, रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन ‘अनन्त’को यो साताको दुई दिन निकै व्यवस्ततामा बित्यो । जिल्ला सदरमुकाम लिबाङबाट यात्रा सुरु गरेका उनले दुई दिनमा जिल्लाभरका एकदर्जन कार्यक्रममा भाग लिए । सदरमुकामबाट कुरेली मिरुल हुँदै थबाङ र त्यहाँबाट उवा सेरम हुँदै सुलिचौर पुग्दा जिल्लाको अधिकांस भूगोललाई छोइन्छ । अथवा, यसलाई रोल्पाको ‘रिङरोड’ पनि भन्न सकिन्छ ।

नेता कार्यकर्ता भेटघाट, विभिन्न संघसंस्थाका ज्ञापनपत्र बुझ्ने काममा समेत उनको बाँकी समय बित्यो । बिहान ६ बजेबाट राती १० बजेसम्म व्यस्त रहेका पुनको यो यात्रा मतदाता भेटघाटको रुपमा पनि रह्यो । पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन लगायत सम्मिलित टोलीले यसपटक रोल्पा परिक्रमा गरेको छ ।

शनिबार बिहान लिबाङबाट हिडेका नेता पुनले रोल्पा नगरपालिका–८, जङ्कोटमा निर्माणाधिन मगर संग्रहालयको अवलोकन गरे । त्यसलगत्तै वडा कार्यालयमा आयोजित चियापानमा सहभागी भए ।
परिवर्तन गाउँपालिकाको राङ्सीमा पूर्वमन्त्री तथा सांसद जयपुरी घर्तीसहितको नेता कार्यकर्तासँगको भेटपछि पूर्वमन्त्री पुनकै पहलमा एनएमबी बैंकले राङ्सीकै बाल सुन्दर आधारभूत विद्यालयलाई दिएको ५ थान कम्प्युटर र १ थान प्रिन्टर हस्तान्तरण गरे । निकै तामझामसहित आयोजना गरिएको उक्त कार्यक्रममा नेता वर्षमान पुनले सम्बोधन गरेका थिए भने स्थानीय झाँकी र तेक्वान्दो डेमो समेत प्रस्तुत गरिएको थियो ।

त्यसपछि थबाङ गाउँपालिकाको मिरुल टुटुमा विद्यालय भवनको उद्घाटन गरियो । भव्यरुपमा आयोजित उद्घाटन कार्यक्रममा वर्षमान पुन, गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती लगायतले सम्बोधन गरे ।
त्यस्तै थबाङ गाउँपालिका–२ छेर्लोबाङमा आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्नुका साथै सो अवसरमा आयोजित कार्यक्रममा भाग लिए ।

छेर्लोबाङमै प्रदेश सरकारको बजेटमा निर्मित सडकको समेत पुनले उद्घाटन गरेका छन् ।
त्यसपछि थबाङको थबाङी मगर घरबासले आयोजना गरेको स्वागत कार्यक्रममा वर्षमान पुनले भाग लिए । पहिलो दिनको बेलुकी करिब ७ बजे थबाङ पुगेका अनन्त नेतृत्वको टोलीलाई औपचारिक कार्यक्रम गर्दै विभिन्न सांस्कृतिक प्रस्तुती देखाएका थिए ।

दोस्रो दिन अर्थात् आइतबार बिहानैदेखि उनको नियमित कार्यक्रम सुरु भयो । थबाङको राजनीतिक ऐतिहासिकतालाई नजिकबाट देखे भोगेका वर्षमान पुनले बिहानै थबाङकै झकिबाङमा निर्मित दीर्घसहितको सहिदहरुको सालिकमाथि सलामी चढाए ।
त्यसपछि थबाङ–१, बिबाङमा रहेको थबाङ सौर्य मिनिग्रीड शुभारम्भ भएको घोषणा गरे । नेपालकै ठूलो सौर्य ऊर्जा भनिएको यस मिनिग्रीडबाट १५० किलोवाट विद्युत उत्पादन भइरहेको छ । ऊर्जा मन्त्रालय अन्तर्गत सौर्य ऊर्जा र गाउँपालिकाको आर्थिक साझेदारीमा निर्मित मिनिग्रीडबाट ३५० घरधुरी लाभान्वित भएका छन् ।

थबाङ गाउँपालिकाकै वडा नं. ४ उवा घोराबाङमा रहेको आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको थियो । सोही सन्दर्भमा अर्को स्वास्थ्य भवनको समेत शिलान्यास गरिएको थियो ।

थबाङ गाउँपालिकाकै वडा नं. ५ उवाको कोटलबारामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । त्यस्तै कोटलबारामै निर्मित बेशीखोला ट्रष्ट पुलको उद्घाटन गरिएको छ ।

त्यस्तै सुनछहरी गाउँपालिकाको पोबाङमा निर्माणाधिन गाउँपालिका भवनको अनुगमन गर्नुका साथै गाउँपालिकाले आयोजना गरेको चियापानमा सहभागी भएका थिए । त्यसपछि सुनछहरी गाउँपालिकाकै जैमाकसलामा आयोजित विद्यालय भवनको उद्घाटन गर्दै दोस्रो दिनको यात्रा सुलिचौर पुगेर टुंगिएको थियो ।













तस्बिरहरुः नवीन लोचनमगर

