काठमाडाैं, पछिल्लो दुई महिनामा देशभर एक हजार ६५८ आगलागी र डढेलोका घटना, ३१ को मृत्यु, १०५ गम्भीर घाइत गत २६ चैतमा जंगलको डढेलो निभाउन गएका तीन सैनिकको मृत्यु भयो । डोल्पास्थित मस्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीनजनाको उपचारका क्रममा मृत्यु भएको थियो । जसमध्ये हेमन्त रावतको डोल्पाको दुनैस्थित जिल्ला अस्पताल र विजय कोइराला तथा आशिक बुढाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भयो । चिकित्सकका अनुसार उनीहरूको शरीरको ७० देखि ९० प्रतिशतसम्म जलेको थियो । २९ चैतमा डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिकाको डढेलोमा परेर तीनजना बालकको मृत्यु भयो । च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएका थिए । उनीहरूको पनि उपचारका क्रममा मृत्यु भयो । जसमध्ये एकजनाको दुनै अस्पताल र दुईजनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।
गत २२ वैशाखमा डढेलोमा परेर शरीरको ४५ प्रतिशत भाग जलेर दुईजना महिला कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भए । जंगलमा लागेको डढेलोमा परी घाइते भएका दुवैजनालाई सेती प्रादेशिक अस्पतालले थप उपचारका लागि रिफर गरेको थियो । दुवैको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।
डा. विजय थापा, चिकित्सक
बढीमा ३० प्रतिशत शरीरको भाग जलेका बच्चा मात्रै अस्पतालसम्म पुग्छन् । ४० प्रतिशतभन्दा माथि जलेका बच्चाको घटनास्थलमै अर्थात् अस्पतालसम्म नपुर्याउँदै मृत्यु हुने उच्च जोखिम हुन्छ । अस्पतालसम्म ल्याएका बिरामीलाई उपचारबाट बचाउन सकिने अवसर हुने भएकाले अस्पतालको मृत्युदर कम नै छ ।
शरीरको ४० देखि ४५ प्रतिशत भाग जलेर अस्पताल पुगेकी ४५ वर्षीया मनमती भुलको खुट्टा, पेट र ढाडको अधिकांश भाग जलेको थियो । विभिन्न शल्यक्रियापछि उनको घाउ पुरिँदै गएको छ । तर, अझै अन्य शल्यक्रिया बाँकी भएकाले केही समय अझै अस्पताल बस्नुपर्ने अस्पतालले जनाएको छ । उनीसँगै जलनमा परेकी धौली भुलको पनि २५ देखि २७ प्रतिशत शरीरको भाग जलेको थियो । उनको अनुहार, घाँटी, हात र खुट्टा जलेका कारण निको हुन समय लागेको चिकित्सकको भनाइ छ ।
मनमती र धौली दुवैजनालाई कपडाबाट शरीरमा आगो सल्किएको थियो । यस्तै, रुकुमका ३४ वर्षीय विजय कोइराला आगलागीमा परी ४० प्रतिशत शरीरको भाग जलेर अस्पतालमा उपचाररत छन् । जेठको पहिलो साता आगलागीमा परेर उपचारका लागि काठमाडौं ल्याइएका उनको पनि कीर्तिपुरस्थित बर्न अस्पतालमै उपचार भइरहेको हो ।
अस्पतालमा घटेनन् जलनका बिरामी
प्रिमनसुन र मनसुन सुरु भएपछि केही समययता जंगलको डढेलो र आगलागीका घटनामा कमी आएको छ । दैनिकजसो पानी परेकाले जलनका केस पनि घटेका छन् । तर, डढेलो वा आगलागीमा परेर गम्भीर घाइते भएका बिरामीको अस्पतालमा भिड भने घटेको छैन । लामो समयसम्म उपचार गर्नुपर्ने अर्थात् दर्जनौँ शल्यक्रिया गर्नुपर्ने भएकाले अस्पतालमा बिरामीहरू अझैसम्म भरिभराउ नै छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा मात्रै अहिले २९ जना बिरामी उपचाररत छन् । जसमध्ये अधिकांश महिनौँदेखि अस्पतालमा छन् ।
गृह मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दुई महिनामा मात्रै देशभर एक हजार ६५८ आगलागी र डढेलोका घटना भएका छन् । जसमा परेर ३१ जनाको मृत्यु र १०५ जना गम्भीर घाइते भएका छन् । पछिल्ला तीन वर्षमा आगलागी र जंगलमा लागेको डढेलोमा परी सात सय २८ जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार बर्सेनि सयौँको संख्यामा भइरहेका आगलागीका घटनामा परी ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको हो । गत वर्ष डढेलो र आगलागीका ६ हजार ३८३ घटना हुँदा ४९२ जनाको मृत्यु भएको थियो । एक हजार ६१४ घाइते भएका थिए । ०७९ मा तीन हजार २१४ आगलागी र डढेलोका घटना भएका थिए । जसमा परी ११० जनाको मृत्यु भएको थियो । ३९५ जना घाइते भएका थिए । ०७८ मा २,४६६ आगलागीका घटना हुँदा ९५ जनाको मृत्यु भएको थियो । जलनका कारण सोही वर्ष ३८१ जना घाइते भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ ।
उपचारमा ढिलाइ हुँदा मृत्यु हुनेको संख्या उच्च, बालबालिका बढी प्रभावित
आगो र डढेलो मात्र नभएर विद्युतीय दुर्घटना, एसिड वा तातो तेल तथा अन्य कारणले हुने दुर्घटना र अपराधका घटनाले समेत सयौँको संख्यामा जलनका घटना भइरहेका छन् । जसकारण गहिरो चोटपटक, अपांगता र मृत्युका घटनासमेत उच्च दरमा भइरहेका छन् । नेपालमा बर्न इन्जुरी अर्थात् जलनका कारण हुने घाउ, चोटपटक इन्जुरीको तेस्रो मुख्य कारण हो । जलनका कारण बर्सेनि हजारौँको संख्यामा घाउ, चोटपटक, अपांगता र मृत्युका घटना हुने गरेका छन् । जसमध्ये पनि अधिकांश बालबालिका प्रभावित हुने गरेका छन् ।
जलन घटनाका प्रभावित बालबालिकामा गरिएको इपिडिमियोलोजी, क्लिनिकल पद्धति र जलेको बच्चाको उपचारात्मक परिणामबारे गरिएका अध्ययनले बालबालिका बढी प्रभावित भइरहेको देखाएको हो । कान्ति बाल अस्पताल तथा स्वास्थ्य मन्त्रालयका चिकित्सकहरूले गरेको पछिल्लो एक अध्ययनले समेत जलनका घटनामा बालबालिका बढी प्रभावित भएको देखाएको थियो । सो अध्ययन सन् २०१६ देखि २०१९ मा कान्ति बाल अस्पतालमा उपचारका लागि भर्ना भएका बालबालिकामा गरिएको सर्वेक्षणका आधारमा भए पनि जलनको उपचार अवस्थामा अहिले पनि खासै फरक नभएको डा. विजय थापाले बताए । जलन भएर अस्पताल पुगेका १४ वर्षमुनिका ९३५ जनामा अध्ययन गरिएको थियो, जसमध्ये ८३ प्रतिशत बालबालिका पाँच वर्षमुनिका थिए । काठमाडौंबाहिर अस्पताल नहुँदा अधिकांश बालबालिका ढिला अस्पताल पुग्ने र जलनको घाउ गहिरो हुने गरेको अध्ययनले देखाएको छ ।
कान्ति बाल अस्पतालमा एक वर्षमा १५४ बिरामीको उपचार
कान्ति बाल अस्पतालमा बर्सेनि सयौँको संख्यामा जलन प्रभावित बालबालिका उपचारका लागि पुग्ने गरेका छन् । अस्पतालको तथ्यांकअनुसार ०८० मा १५४ जना अस्पताल भर्ना भएका थिए, जसमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । ०७९ मा १३८ जना भर्ना भएकोमा एकजनाको मृत्यु भएको थियो । उपचारका लागि अस्पतालसम्म पुग्दा प्राथमिक उपचार पाएका र कम जलनका बालबालिका बढी संख्यामा पुग्ने भएकाले निको भएर फर्किनेको संख्या सन्तोषजनक रहेको अस्पतालको तथ्यांकले देखाउँछ । तर, सामान्यतया उपचारका लागि २४ घण्टाभित्रै उपचार थालिहाल्नुपर्ने भए पनि सो समयमा जम्मा ५०.६ प्रतिशत मात्रै अस्पताल पुग्ने गरेकाले घाउ निको हुन लामो समय लाग्ने चिकित्सक डा. विजय थापा बताउँछन् ।
‘बढीमा ३० प्रतिशत शरीरको भाग जलेका बच्चा मात्रै अस्पतालसम्म पुग्छन् । ४० प्रतिशतभन्दा माथि जलेका बच्चाको घटनास्थलमै अर्थात् अस्पतालसम्म नपुर्याउँदै मृत्यु हुने उच्च जोखिम हुन्छ । अस्पतालसम्म ल्याएका बिरामीलाई उपचारबाट बचाउन सकिने अवसर हुने भएकाले अस्पतालको मृत्युदर कम नै छ,’ उनले भने । प्राथमिक उपचार गरेर मात्र अस्पताल ल्याउनेको संख्या बढेकाले अस्पतालमा पुगेकालाई बचाउन सकिने अवसर हुने चिकित्सकहरूको भनाइ छ । प्राथमिक उपचार गरेर मात्र अस्पताल ल्याउनेको संख्या बढेकाले अस्पताल पुगेकामध्ये धेरै विरामीलाई बचाउन सकिएको चिकित्सकहरूको भनाइ छ । सबैभन्दा बढी स्क्याल्ड बर्न आगोका कारण जलेका, यसपछि विद्युतीय जलन, तातो तेल, एसिड र अन्य कारण हुने गरेको पाइएको छ ।
सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना हुने ग्राफ बढ्दो
सुष्मा कोइराला मेमोरियल अस्पतालमा २०२२ मा १७३, २०२१ मा २४४ र २०२० मा २४२ जना जलनका बिरामी भर्ना भएका थिए । जसमध्ये प्रभावित बालबालिकाको संख्या उच्च हुने गरेको डा. सन्तोषविक्रम भण्डारीले बताए । ‘अत्यधिक जलन भएर आएका साना बालबालिकामा मृत्युदर उच्च छ । अन्य उमेर समूहका बिरामीलाई लामो समय उपचार गरेर ज्यान बचाउन सकिने भए पनि बालबालिका बढी प्रभावित भइरहेका हुन् ।
३५ प्रतिशतभन्दा बढी जलेकामध्ये झन्डै १० प्रतिशत बालबालिकाको उपचारका क्रममा मृत्यु भइरहेको हो,’ उनले भने । त्रिवि शिक्षण अस्पतालमा समेत बर्सेनि सयौँ जलनका बिरामी पुग्ने गरेका छन् । यसबाहेक राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, पाटन अस्पताललगायतले समेत जलनको उपचार गरिरहेका छन् । यी अस्पतालमा सामान्य जलनको उपचार भइरहेकाले मृत्युदर पनि न्यून छ ।
जलनबाट गम्भीर भएपछि कीर्तिपुर बर्न अस्पताल पुग्छन् बिरामी
कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि जलनका बिरामी सबैभन्दा धेरै पुग्ने गरेका छन् । जहाँ उपचारका क्रममा मृत्यु हुनेको संख्या पनि उच्च रहेको अस्पतालले जनाएको छ । अस्पतालको तथ्यांकअनुसार पछिल्लो वर्ष उपचारका लागि अस्पताल पुगेका ७९१ बिरामीमध्ये १६ जनाको मृत्यु भएको थियो । अस्पताल भर्ना हुने र मृत्युको दर पनि बालबालिकामा धेरै भएको अस्पतालको तथ्यांकले देखाउँछ ।
सन् २०२३ मा अस्पताल भर्ना भएकामध्ये १० वर्षमुनिका २१४ जना थिए । २०२२ मा ६६० जना अस्पताल पुगेका थिए भने उपचारका क्रममा १४ जनाको मृत्यु भएको थियो । अस्पताल भर्ना हुनेमध्ये १० वर्षमुनिका बालबालिका २१० जना थिए । २०२१ मा अस्पताल पुगेका ६२३ मध्ये १६० जना १० वर्षमुनिका बालबालिका थिए । उपचारका क्रममा अस्पतालमा १६ जनाको मृत्यु भएको थियो ।
देशभरिबाट गम्भीर केस कीर्तिपुर बर्न अस्पतालमै रिफर गरिने र बिरामीहरू निकै ढिला आइपुग्ने भएकाले मृत्युदर बढिरहेको डा. किरण नकर्मीको भनाइ छ । ‘प्राथमिक उपचार नगरीकनै दुई दिन वा हप्ता दिनपछि शरीरको अधिकांश भाग जलेका बिरामी पनि अस्पताल पुग्छन् । उमेरअनुसार शरीरको ४० प्रतिशतभन्दा माथि भाग जलेका प्रभावितलाई बचाउन गाह्रो हुन्छ । यसबाहेक उपचारका लागि लामो समय लाग्ने, दर्जनौँ शल्यक्रिया गर्नुपर्ने वा वर्षौँसम्म अस्पतालमा फलोअपका लागि आइरहनुपर्ने समस्या छ,’ उनले भने । आगलागीका घटना बढेसँगै कीर्तिपुर अस्पतालमा बिरामीको भिड पनि बढ्न थालेको छ । अस्पतालले जलनका बिरामीलाई विशेष प्राथमिकतामा राखेर सघन उपचारका साथै सम्पूर्ण उपचार सेवा दिँदै आएको छ ।
Leave a Reply