फेसनको बहुआयामिक पक्षहरुलाई कल्पना, सृजना र अभिव्यक्तिको भव्यतालाई कपडाको क्यानभासमा प्रस्तुत गर्दै ‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण सम्पन्न भएको छ । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन अन्तर्गत फेसन डिजाइनिङ विधामा छ महिनाको पढाई सम्पन्न गरेका एक सय २६ जना विद्यार्थी डिजाइनरहरुले आफ्नो सृजनाहरुलाई चार वटा विविध अवधारणामा प्रस्तुत गरेका छन् । आफूले तयार पारेको सृजनालाई स्वयं आफैंले मोडलको रुपमा ¥याम्पमाथि क्याटवाक गर्दै आकर्षक रुपमा प्रदर्शन समेत गरेका थिए । राजधानी शहरको प्रज्ञा भवनको डबलीमा प्रस्तुत गरिएको प्रतिस्पर्धात्मक फेसनमय उक्त कार्यक्रममा पारामेट्रिक प्यालेस, मेगालफोबिक, क्यारिड अवे इन डेजाभु तथा माइथोलोजिकल गार्डेन गरी चार अवधारणामा समेटिएको थियो । सहभागि विद्यार्थी डिजाइनरहरु यीनै चार अवधारणा अन्तर्गत चार समूह विभाजित थिए ।
कार्यक्रममा पारामेट्रिक प्यालेस अवधारणामा जिज्ञासा श्रेष्ठ उत्कृष्ट छनौट भइन् भने मेगालफोबिक अवधारणामा खुश्बु सेवाको सृजना उत्कृष्ट ठहरियो । क्यारिड अवे इन डेजाभु अवधारणामा सिलु बज्राचार्यको सृजनाले विजेताको उपाधि चुम्न सफल भयो भने माइथोलोजिकल गार्डेन अवधारणामा अन्तर्गत इन्द«ावती क्षेत्रीको सृजना उपाधि विजेताको हकदार बन्यो । चारै जना विजेताले विविध गिफ्ट ह्याम्परका साथमा जनही रु पन्ध्र हजार नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतिस्पर्धात्मक यो कार्यक्रममा गायक उदय सोताङ, संचारकर्मी कृष्ण भट्टराई, फेसन डिजाइनरहरु महेश महर्जन, कुसुम पदम श्रेष्ठ, निशा श्रेष्ठ तथा गीता मिश्र निर्णायकको भूमिकामा रहेका थिए । कार्यक्रमको कोरियोग्राफी तथा संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।
कार्यक्रममा आईआईएफीबाट फेसन डिजाइनिङ कोर्ष पूरा गरेका ७६ जना विद्यार्थी डिजाइनरहरु ग्राजुएट भएका थिए । उनीहरुलाई लोकप्रिय फेसन डिजाइनर युबी थापाले ग्राजुएसन सर्टिफिकेट प्रदान गरेका थिए । आईआईएफटीका प्रबन्धक निर्देशक फुपू तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम भएको र विद्यार्थी डिजाइनहरुको कक्षाकोठाको सिकाईलाई व्यवसायिक प्लेटफर्म दिंदै उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुसार यो कार्यक्रम आयोजना हुँदै आएको हो ।


