काठमाडौं, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन् । सरकारबाट बाहिरिएपछि बसिरहेको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन् । पार्टी निर्माणका लागि विभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘वर्तमान परिवेश र काम अनुरूप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन् । उपमहासचिव शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न पनि सुझाव दिएका छन् । अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्ताव छ ।
त्यसका लागि हालको केन्द्रीय कमिटी भङ्ग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनु पर्ने शर्माको प्रस्ताव छ । शर्माले यो प्रस्ताव साउन २५ गतेदेखि सुरु स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका हुन् । सो बैठकमा उनले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा शर्माले नयाँ परिस्थिति अनुसार रुपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिवृद्धि गर्न जरुरी रहेको भन्दै पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा रही नेतृत्व हस्तान्तरणका विकल्प प्रस्ताव गरेका छन् । ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ शर्माले लेखेका छन् ।
यसको विकल्पमा उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने । हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेश्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने ।’ त्यसका लागि हालको केन्द्रीय कमिटी भंग गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट नयाँ नेतृत्व चुन्न महाधिवेशनको मिति तोक्नुपर्ने उनको भनाइ छ ।


