वर्ष २०७८ को नारी मासिकको वैशाख अंकको आवरण पृष्ठमा चर्चित गायिका अन्जु पन्त र उनकी छोरी परितोषिका पन्तलाई प्रस्तुत गरिएको छ । फेसन फोटोग्राफर महेश प्रधानको लेन्समा कैद भएको अन्जु र परितोषिकाको तस्वीरका लागि लाजिम्पटास्थित सांग्रीला होटलमा फोटोसुट गरिएको हो । अन्जु र परितोषिकाको सुन्दरतालाई टेकुस्थित ग्लिटर्स बाई रश्मि श्रेष्ठले श्रृंगारमार्फत् निखार ल्याएकी हुन् भने उनीहरुले पहिरिएको पहिरन कुपण्डोलस्थित डि सिया धागो बुटिकका डिजाइनर रेश्मा श्रेष्ठले डिजाइन गरेकी हुन् ।
परितोषिकाले आफ्नै आमा अन्जु पन्तको स्वर तथा संगीत रहेको ‘धेरै माया नदेउ मलाई’ बोलको गीतको म्युजिक भिडियोबाट मोडलिङ डेब्यु गरेकी हुन् । केही समय अगाडि मात्र नेक्स्ट मोडल्स नेपालको आयोजनामा सम्पन्न मोडल हन्ट नेपाल सिजन सिक्समा परितोषिकाले सेकेन्ड रनर अपको उपाधि जित्न सफल भएकी थिइन् । 

यसैगरी गत चैत्र ३० गते राजधानी शहरस्थित होटल सोल्टी क्राउन प्लाजामा अस्तित्व शीर्षकमा सम्पन्न नमूना कलेज अफ फेसन टेक्नोलजीको १५औं ग्राजुएसन फेसन शोमा पनि परितोषिकाले मोडलका रुपमा क्याटवाक गरेकी थिइन् । शालीन सुन्दर मुहारकी धनी परितोषिकाले विस्तारै मोडलका रुपमा आफ्नो छवि बनाउँदै अघि बढेको देखिन्छ ।


