काठमाडौं, ब्रम्हाण्ड सुन्दरी अर्थात् मिस युनिभर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाउनका लागि मिस युनिभर्स नेपाल २०२० का विजेता अंशिका शर्मा अमेरिकातर्फ प्रस्थान गरेकी छिन् । यही मे १६ तारिखमा अमेरिकाको फ्लोरिडास्थित हलिउडमा रहेको सेमिनल हार्ड रक एण्ड क्यासिनोमा सचालन हुने मिस युनिभर्स २०२० को शीर्ष उपाधिका लागि नेपालकी अंशिकाले विश्वभरिका ७० भन्दा बढी मुलुकका सुन्दरीहरु सित प्रतिस्पर्धा गर्नेछिन् । 
अंशिकाले वर्ष २०२० डिसेम्बर महिनाको ३० तारिखमा सम्पन्न मिस युनिभर्स नेपाल २०२० को विजेताको ताज पहिरिएकी थिइन् । २४ वर्षिया अंशिकाले अपाला ज्वेलर्सले डिजाइन एवं निर्माण गरेको १५ लाख मुल्य पर्ने मिस युनिभर्स नेपाल २०२० ताज पहिरिएसंगै नगद पुरस्कार रु दश लाख पनि प्राप्त गरेकी हुन् । 
सोही पुरस्कार रकमबाट अंशिकाले अंशिका एजुकेसन वेलफेयर फाउन्डेसन प्रारम्भ गरेर सोही फाउन्डेसनबाट आफ्नो गृह जिल्ला झापाका विभिन्न ४ वटा विद्यालयहरुमा अध्ययनरत १४ जना विद्यार्थीहरुको शिक्षा, स्वास्थ्य, गाँस, बास, कपासको व्यवस्थापनमा सहयोग पु¥याइरहेकी छिन् ।


