लमजुङ, मर्स्याङ्दी करिडोरअन्तर्गतको निर्माणाधीन दुई सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारणलाइन आयोजनाको सबस्टेसन निर्माण सम्पन्न भएको छ । लमजुङ उदिपुर सबस्टेसनको शतप्रतिशत काम सम्पन्न भएको छ । चितवनको आँपटारीमा रहेको न्यु भरतपुर सबस्टेसनको निर्माण यसअघि नै सम्पन्न भइसकेको छ । १७ जनवरी २०१८ देखि अघि बढेको उक्त प्रसारणलाइन आयोजना तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने योजना भए पनि विविध कारणले सम्पन्न हुन नसकेको मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारणलाइन आयोजनाका प्रमुख नारायण रेग्मीले बताए । उनका अनुसार सम्झौताअनुसार समयमै सम्पन्न नभएपछि थप गरिएको समयअवधि सकिएकाले अबको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको कार्यतालिका रहेको छ । प्रसारणलाइनको पिंगाओ गुप्र चाइना कम्पनीले निर्माण गरेको हो । ‘६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म प्रसारणलाइन पुर्याउन एक सय ९९ वटा टावर निर्माण गरिएको छ’ उनले भने, ‘दुई वटै सबस्टेसनको निर्माण सकिएको छ, अब थप काम एक वर्षभित्रै सकिने छ ।’
युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋणमा एक सय १० किमि दुई सय २० केभी लाइन र चारवटा दुई सय २० केभीका ग्यास इन्सुलेटेड सबस्टेसनहरू क्रमशः धारापानी, खुदी, उदिपुर र भरतपुरमा निर्माण गरिएको हो । मर्स्याङ्दी करिडोर प्रसारणलाइनबाट प्रवाह भएको विद्युत् मार्कीचोक हुँदै काठमाडौं र भरतपुर पुग्नेछ । मर्स्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारणलाइन निर्माण गरिएकोे हो । मर्स्याङ्दी बेसिनमा जम्मा सम्भावित १६ सय मेगावाट विद्युत् उत्पादन हुनेछ र उक्त १६ सय मेगावाट उत्पादित विद्युत् मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारणलाइनबाटै राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध हुनेछ ।
आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रहेको छ । यसको निर्माण आर्थिक वर्ष ०७८÷७९ मा सक्ने लक्ष्य रहेको थियो । आयोजनाका प्रमुख रेग्मीले कोरोना, बाढीपहिरोलगायत विविध कारणले निर्धारित समयमा काम सम्पन्न नभएकोे बताए । अबको एक वर्षमा प्रसारणलाइनको निर्माण कार्य सम्पन्न हुने आयोजनाका प्रमुख रेग्मी बताउँछन् । सबस्टेसनको निर्माण सम्पन्न भएसँथै पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको छ । एक सय ३२ केभी सबस्टेसनलाई भने सञ्चालनमा ल्याइएको छ ।नेपाल विद्युत् प्राधिकरण र हिमालयन पावर पार्टनरबिचको विद्युत् खरिद–बिक्री सम्झौताबमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारणलाइनलाई अब यही सबस्टेसनमा जोडिनेछ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको एक सय १३ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माणाधीन छ ।


