हालै राजधानीमा सम्पन्न पुरुष प्रतिस्पर्धीहरुको अन्तर्राष्ट्रिय प्रतियोगिताको नेपाली संस्करण म्यान अफ द इयर नेपाल २०२४ को उपाधि जित्न सफल भएका छन् कृष्ण निउरे । उनले सात लाख बराबरको पुरस्कार सहित आगामी नोभेम्बर ९ देखि १९ नोभेम्बर थाईल्याण्ड चियाङ माईमा सम्पन्न हुने सातौं संस्करणको म्यान अफ द इयर २०२४ को अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट आधिकारिक रुपमा सहभागिता जनाउने अवसर जुराएका छन् ।

राजधानी शहरको गैरीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा सम्पन्न उक्त प्रतियोगितामा अन्तिम पाँच फाइनलिष्टहरु मध्ये प्रतियोगिताको मुख्य अवार्डहरुमा कृष्ण निउरे म्यान्लि म्यान अफ द इयर, उत्सव श्रेष्ठ म्यास्कुलिन म्यान अफ द इयर, अभिमन्यु खड्का मोर्डन म्यान अफ द इयर, प्रविण आचार्य माइन्डफुल म्यान अफ द इयर तथा अनमोल भण्डारी मास्टर्ली म्यान अफ द इयरका रुपमा पुरस्कृत गरिएका थिए ।

यु क्यान फ्लाई, युसिएफ नामक संस्थाको ब्यानरमा आयोजना भएको यस कार्यक्रमका नेसनल डारेक्टर सम्शाद शाह हुन् भने स्वीकृति प्याकुरेल कार्यक्रमका म्यानेजिङ डारेक्टर हुन् । अभिनेता एवं सिनियर फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको यस प्रतियोगितामा प्रवेश डंगोलले मोस्ट ट्यालेन्टेड, अनमोल भण्डारीले पब्लिक च्वाइस, ईश्वर छतकुलिले वेष्ट वाक तथा ऋतिक श्रेष्ठले मोस्ट फोटोजेनिकको अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममा सहभागिहरुले आर्जु क्लोदिङका फेसन डिजाइनर आरजु श्रेष्ठले तयार पारेको डिजाइनर्स मेन्स वेयरमा सजिएर प्रस्तुत भएका थिए ।


