यही आउँदो कार्तिक ३ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा लोकप्रिय पप गायक धीरज राई आफ्नो एकल साँगीतिक प्रस्तुतिका साथ प्रस्तुत हुने भएका छन् । बुद्ध वाज बर्न इन नेपाल अर्थात् बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभियानका साथमा विश्वका विभिन्न मुलुकहरुमा आफ्नो साँगीतिक प्रस्तुति दिंदै आएका गायक धीरज राईले राजधानी शहरमा आफ्नो एकल प्रस्तुति दिन लागेका हुन् । फेसन, मोडलिङ, सौन्दर्य प्रतियोगिता लगायत विभिन्न सामाजिक कार्यक्रमहरुमा पनि सक्रिय रहँदै आएको काराओके इन्टरटेन्मेन्टले गायक धीरज राई एकल साँगीतिक कार्यक्रमको आयोजना र व्यवस्थापनको जिम्मेवारी लिएको छ । सो कुराको जानकारी हालै आयोजना गरिएको पत्रकार सम्मेलनमा गरिएको हो ।

सो पत्रकार सम्मेलनमा एकेडेमिया कलेजका क्याम्पस प्रमुख राजेश प्रसाद श्रेष्ठ, कार्यक्रमका संयोजक मिस नेसनल समिता बज्राचार्य, काराओके इन्टरटेन्मेन्टका अध्यक्ष खगेश रंजीतकार, गायक धीरज राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम धीरज राई लाइभ इन कन्सर्ट २०८१ शीर्षकमा संचालन हुनेछ ।


