डेंगु नियन्त्रणका लागि देशभरका सरकारी कार्यालयमा सरसफाइ अभियान सञ्चालन

काठमाडाैं, सरकारले डेंगुको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालयपरिसरमा सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालयपरिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। ‘डेंगु फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गर्ने स्वासथ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेंगु नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो,’ उनले भने । यसैबिच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार आज बिहान १० बजे आ–आफ्ना कार्यालयपरिसरमा सरसफाइ गरी डेंगु नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेंगुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले आज बिहान १० बजे देशव्यापी रूपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थाल्न लागेको जानकारी दिए। उनले डेंगु नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिकसमक्ष आग्रह गरेका छन् ।

Share This Post

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *