Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

युरोपेली संघ-नेपाल व्यापार तथा लगानी कार्यक्रम (EU-TIP) को समापन समारोह होटल याक एण्ड यतिमा आयोजित एक विशेष पश्मिना फेसन शोकेससँग सम्पन्न भयो, जसले नेपाली हस्तकला र सौन्दर्यलाई स्मरणीय ढंगमा उजागर गर्‍यो। यो शोकेस नमुना कलेज अफ फेसन टेक्नोलोजी (NCFT) र नेपाल पाश्मिना उद्योग संघ (NPIA) बीचको सहकार्यमा प्रस्तुत गरिएको थियो, जसले नेपाली पश्मिनाको सुन्दरतालाई र्‍याम्पमा जीवन्त बनायो।

फेसन शोमा चार पुरुष र बाह्र महिला गरी कुल १६ मोडलले पेशेवर ढंगमा पश्मिनाका उत्कृष्ट डिजाइनहरू प्रस्तुत गरे। NCFT को १९औं ब्याचका स्नातक विद्यार्थीहरू प्रिशा जोशी र अनुज नगरकोटीले स्टाइलिङ र मोडल समन्वयको जिम्मेवारी सम्हालेका थिए।

सञ्चारकर्मी तथा अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यले शोको निर्देशन गरेका थिए भने पूर्व मिस नेपाल सुगरिका केसीले होस्टको रूपमा शोको सञ्चालन गरेका थिए ।

फेसन शो चार राउन्डमा विभाजित गरिएको थियो, जसमा पश्मिनाको बहुमुखी प्रयोगलाई लाउन्ज वियर, स्मार्ट क्याजुअल वियर र ग्ल्याम वियरको रूपमा प्रस्तुत गरियो। अन्तिम राउन्ड पश्मिना निर्माण गर्ने सीपालु कामदारहरूको सम्मानमा समर्पित गरिएको थियो। पश्मिनाका वास्तविक नायकका रूपमा ती कुशल कामदारहरू आफैं र्‍याम्पमा प्रस्तुत भएका थिए ।

शोमा केपीए पश्मिना, प्लस क्याश्मेर, क्याश्मेर वर्ल्ड नेपाल, गायत्री पश्मिना, माउन्ट मनास्लु पश्मिना र अल्पाइन पश्मिनाले आफ्ना उत्पादनहरू प्रस्तुत गरेका थिए ।

युरोपेली संघको सहयोगमा र अन्तर्राष्ट्रिय व्यापार केन्द्र (ITC) तथा जर्मन कोरपोरेशन फर इन्टरनेशनल कोअपरेसन (GIZ) द्वारा कार्यान्वयन गरिएको यो EU-TIP को समापन समारोहले नेपाली कपडा र हस्तकलालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै स्थानीय प्रतिभा र सीपको महत्त्वपूर्ण योगदानलाई सम्मान दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय