अनिशा पराजुली नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिष्ठित मिस प्लानेट इन्टरनेशनल २०२४ मा सहभागी भइरहेकी छिन्, जुन क्याम्बोडियामा आयोजना हुँदैछ। पेशाले मानसिक स्वास्थ्य नर्स अनिशा हाल वीर नर्सिङ क्याम्पसमा मास्टरको अध्ययन गरिरहेकी छिन्। उनले काठमाडौंमा नर्सहरूको सहभागितामा आयोजित मिस नेपाल पिस सौन्दर्य प्रतियोगितामा फस्ट रनर-अपको उपाधि जितेकी थिइन्, जुन नेक्स्ट मोडेल्स नेपालद्वारा आयोजित गरिएको थियो। यो उपलब्धिले उनलाई मिस प्लानेट इन्टरनेशनल २०२४ मा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्यो।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुअघि, अनिशाले चर्चित मिडिया व्यक्तित्व र फेसन कोरियोग्राफर रोजिन शाक्यको अभिमुखीकरण र प्रशिक्षण सत्रमा सहभागि थिइन्। मिस प्लानेट इन्टरनेशनल २०२४ को ग्रान्ड फिनाले २७ नोभेम्बर २०२४ मा क्याम्बोडियाको नोम पेन्हस्थित कोह पीच थिएटरमा आयोजना हुने तय भएको छ। यस प्रतियोगितामा विश्वभरका ४० भन्दा बढी प्रतिस्पर्धीहरूले बहुमूल्य उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
मिस प्लानेट इन्टरनेशनल सौन्दर्य प्रतियोगिता संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूको प्रगतिलाई अघि बढाउन समर्पित अभियान हो, जसले हाम्रो ग्रहको संरक्षण र मानवताको रक्षा गर्ने उद्देश्यलाई प्रवर्द्धन गर्दछ।


