Sunday 19 January 2025 / आईतवार, ६ माघ २०८१

काठमाण्डौं – सामाजिक न्याय र बाल अधिकारका क्षेत्रमा समर्पित संस्था सिविसले आफ्नो ३०औं वार्षिकोत्सव समारोह भव्यताका साथ मनाएको छ। सिविसले आफनो ३०औं वार्षिकोत्सवसहित दासता विरुद्धको विश्व दिवस २०२४ सोमबार नयाँ वानेश्वरमासँगसँगै मनाएको हो । जसको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराई तथा बालबालिकाहरूले पानसमा बत्ती बालेर गरेकी थिईन्।

कार्यक्रममा सिविसकी संस्थापक अध्यक्ष शान्ति अधिकारीले स्वागत मन्तव्य राख्दै सिविसको ३० औं बार्षिकोत्सव र दासता विरुद्धको विश्व दिवससँगसँगै मनाउन लागेको जानकारीसहित सिविसले सामाजिक न्यायका निम्ति आधुनिक दासताको रुपमा रहेको घरेलु बालश्रम उन्मुलनको लागि महत्वपूर्ण कार्यहरु गर्दै आएको उल्लेख गरिन् ।

सो अवसरमा स्वागत नृत्यको रूपमा सिविस बाल सल्लाहकार समितिका सदस्यहरूले मारुनी नृत्य प्रस्तुत गरे भने यससँगै सिविसको तीन दशक लामो यात्रा र योगदानलाई उजागर गर्ने भिडियो पनि प्रस्तुत गरियो।सो अवसरमा सिविसका एडभोकेसी एडभाईजर युवराज घिमिरेले सिविसले ३० वर्षका दौरानमा गरेका कार्यहरुलाई समेटेर सिविसको तिस बर्षे यात्रा बारे प्रस्तुतीकरण मार्फत जानकारी दिए ।

कार्यक्रममा ग्लोबल एन्टि रेसिज्म च्याम्पियनसिप अवार्ड प्राप्त गरेकोमा पूर्व कमलरी समेत रहेकी सिविसमार्फत कमलरी उन्मुलन अभियानमा सकृय सामाजिक अभियन्ता उर्मिला चौधरीलाई सम्मान गरियो। साथै, सिविसमा कार्यरत प्रमोद आचार्य र केदार मगरातीलाई क्रमश २५ र १७ वर्षको निरन्तर सेवाको लागि दीर्घ सेवा सम्मानबाट विभुषित गरिएको थियो।

त्यसैगरि कार्यक्रममाझ बाल सल्लाहकार समितिमा योगदान दिएकोमा अन्जिल राय र विपना बस्नेतलाई प्रमाणपत्र प्रदान गरियो।

कार्यक्रम माझ सिविसको बाल सल्लाहकार समितिका सदस्यहरुले आगामी दिनमा सामाजिक न्याय र बालअधिकारका क्षेत्रमा थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरिएको काठमाण्डौं घोषणा पत्रमन्त्री भट्टराई हस्ताण्तरण गरेका थिए ।

बार्षिकोत्सवका अवसरमा बालबालिकाहरुबाट प्रस्तुत थाली नाचजस्ता सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप रोचक बनाएको थियो भने कृष्ण शाह तेलीले बालअधिकार सम्बन्धी कविता बाचन गरेर माहौललाई थप गर्माएका थिए । त्यस्तै, मनोज भण्डारीले प्रस्तुत गरेको बालश्रम सम्बन्धी गीतले उपस्थित सबैलाई भावुक बनाएको थियो।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले बालअधिकारलाई समाजको सबै तहमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गर्दै भनिन्, ‘बालबालिकाको अधिकार सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेछ। हामी सबैले मिलेर बालश्रम र बालहिंसाविरुद्ध एकीकृत अभियान सञ्चालन गर्नुपर्छ’।

त्यसैगरि उनले सिविसको निरन्तरको कामले बालश्रम घटाउन अहम भूमिका खेलेको बताउदै शिक्षा मन्त्रालयको नेतृत्व गर्दै गर्दा विद्यालय बीचैमा छाडने परिस्थितिबाट बालबालिकाहरुलाई उन्मुक्त गर्दै शिक्षाको नैसर्गिक अधिकार दिलाउन निशुल्क शिक्षा ऐन कार्यान्वयनका लागि योजना बनाएर अघि बढेको उल्लेख गरिन् ।

यसैगरि विधायन समिति सभापति तुलसा दाहालले बाल अधिकारको प्रत्याभुतिका निम्ति सरकार, संसद र नागरिक समाजको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सिविस जस्ता सामाजिक संघ संस्थाका कारण संविधानमा बालबालिकाका अधिकारका विषयले उचित स्थान पाए पनि कार्यान्वयनको चरणमा केहि समस्या रहदै आएको बताईन् ।

कार्यक्रममा बरिष्ठ बालअधिकार अभियन्ता तथा राष्टिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले बालअधिकार आन्दोलन र उपलब्धिहरू बारे प्रकाश पार्दै गाउँ गाउँमा समुदायको अवधारणालाई आत्मसात गर्न सके मात्रै सामाजिक न्यायसहित देशको आर्थिक, राजनीतिक विकास संभव हुने र यसमा सिविस, सिविन जस्ता जस्ता स्ंस्थाको भूमिका महत्वपूर्ण रहने धारणा राखे ।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले मानव अधिकारको आधार नै बालअधिकार भएको बताउँदै बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्न सिविसले उल्लेख्य कार्य गर्दै आएको उल्लेखसहित संस्थाको ३० औं स्थापना दिवसको शुभकामना व्यक्त गरे ।

कार्यक्रममाझ बालबालिकाकातर्फबाट सभालाई संबोधन गर्ने क्रममा लोकेश बहादुर खड्काले आफू पनि बाल श्रममा रहेको उल्लेख गर्दै सिविसले आफु जस्ता बालबालिकाको पनि अधिकार हुन्छ भन्ने प्रतित दिलाएको स्मरण गरे ।

त्यसैगरि शुभकामना मन्तव्य दिँदै सामाजिक अभियन्ता उर्मिला चौधरीले बालबालिकाको अधिकार र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील रहनुपर्नेमा जोड दिईन् ।

त्यस क्रममा सुधा र लुनिभा श्रेष्ठले बाल सल्लाहकार समितिमा रहँदाको अनुभव सुनाउदै सिविसबाट बाल श्रम र संरक्षणका विषयमा गहिरो ज्ञान हासिल गर्ने तथा बालबालिकाकोतर्फबाट चाल्नुपर्ने कदम बारे सुसुचित हुने अवसर प्राप्त गरेको जनाए ।

यसैगरी, मन्थली नगरपालिकाका मेयर लावा श्रेष्ठले स्थानीय सरकारले बालअधिकार प्रवर्द्धनमा गरेका पहलबारे जानकारी गराउँदै बालश्रमको अन्त्यका लागि दीर्घकालीन योजना बनार्इरहेको बताए।

बुढानीलकण्ठ माविका शिक्षक श्याम श्रेष्ठले सिविसका कारण आफू पूर्ण शिक्षक बन्न सकेको महशुस गरेको उल्लेख गरे ।

त्यसैगरि एनएसीजीका अध्यक्ष किरण थापाले बालश्रमविरुद्धको चेतनाका लागि सिविसले स्थापना कालदेखी नै प्रभावकारी कार्यक्रमहरु प्रस्तुत गर्दै आएको बताए।

कार्यक्रमको समापनमा सिविसकी अध्यक्ष बिमला ज्ञवालीले उपस्थितीका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै बालअधिकार संरक्षणका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरिन्। साथै उनले सामाजिक न्याय र बालअधिकारको क्षेत्रमा तीन दशक लामो यात्राको सिकाईबाट सिविसले नयाँ उचाइ प्राप्त गरेको जनाउदै आगामी दिनमा पनि खरो रुपमा उत्रने प्रतिबद्ध समेत व्यक्त गरिन् ।

कार्यक्रमा प्रस्तोताको भूमिका निर्वाह गर्दै संस्थाकी महासचिव अनिता पाण्डेले कार्यक्रमले बालअधिकारप्रतिको जागरण र संरक्षणमा महत्वपूर्ण सन्देश दिएको बताईन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय