Sunday 19 January 2025 / आईतवार, ६ माघ २०८१

काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै बनाउन सक्यो ।

प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । काठमाडौंका स्टेफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए। उनले ३३ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सुमित महर्जनले १० बलमा दुई चौकासहित १४ रन जोडे । भीम सार्की र गेरहार्ड इरास्मसले समान १० रन थपे । यस बाहेक, काठमाडौंका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । ३.५ ओभर बलिङ गरेका नरेनले १९ रनमात्र खर्चिए । उनले काठमाडौंका गेरहार्ड इरास्मस, एस्किनाजी, राशिद खान, करण केसी र साहब आलमलाई पभेलियनको दिशा देखाएका थिए ।

खेलमा अभिनाश बोहराले दुई विकेट लिए । तीन ओभर बलिङ गरेका अभिनाशले एक मेडन फ्याक्दै १२ रन मात्र खर्चिए । ब्रान्डन म्याकमुलम र सैफ जैबले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले ५३ रन बनाए । उनले ३६ बलमा तीन चौका र चार छक्का प्रहार गरे ।

म्याकमुलमलाई १२औं ओभरको अन्तिम बलमा गेरहार्ड इरास्मसले साहब आलमबाट क्याच गराएका थिए । ओपनर विनोद भण्डारीले २८ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन थपे । १७–१ को स्थितीबाट विनोद र म्याकमुलमले ११४ रनको शतकीय साझेदारी गर्दै सुदूरपश्चिमलाई १०३–२ को बलियो स्थितीसम्म पूर्याएका थिए ।

विनोदलाई साहबले १३औं ओभरको पहिलो बलमा एलबीडब्लूको धरापमा पारेका थिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन बनाए । १९औं ओभरको चौथो बलमा आउट भएका दीपेन्द्रले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । दीपेन्द्रलाई करण केसीले माइकल लेभिटनबाट क्याच गराएका थिए । ओपनर सैब जैबले ११ रन थपे । नौ बलमा एक छक्का प्रहार गरेका जैबलाई दोस्रो ओभरको अन्तिम बलमा राशिद खानले बोल्ड गरेका थिए ।

सस्तैमा आउट भएका रोहन मुस्ताफालाई राशिदले नै १६औँ ओभरको अन्तिम बलमा बोल्ड गरे । मुस्ताफाले चार रन जोडे । १७औँ ओभरको चौथो बलमा रनआउट हुनुअघि आरिफ सेखले तीन बलमा तीन रन मात्र बनाए। काठमाडौंका राशिद खानले विकेट लिए । करण केसी, साहब आलम र गेरहार्ड इरास्मसले समान एक विकेट लिए ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय