
काठमाडौं, नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले निर्वाचनमा आफैंँ प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरू नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएको टिप्पणी गरेका छन् । पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पस (एमएमसी–आइओएम) एकाइ सम्मेलनमा बोल्दै पुनले समावेशिता र समानुपातिक प्रतिनिधित्वको दुरुपयोग भएकाले त्यसलाई सच्याइनुपर्ने बताएका छन् ।
प्रतिस्पर्धा गर्न नसक्ने वर्गलाई माथि उठाउन समानुपातिक र समावेशिताको अवधारणा अघि सारिएको भए पनि सक्षम वर्गले त्यही नाममा अवसर लिएका कारण जनतामा त्यसप्रति नकारात्मक धारणा विकास हुन थालेको पुनको भनाइ थियो । सोही कारण आफूहरूले लोकतन्त्रको सर्भिसिङ हुनुपर्ने बहस अघि बढाएको उनले बताए ।‘समावेशिता चुनाव लड्न नसक्नेका लागि हो । प्रतिस्पर्धाका लागि योग्य बनाउन पछिपरेको समुदाय र वर्गका मान्छेलाई अवसर दिने भन्ने त्यसको उद्देश्य हो,’ पुनले भने, ‘लुप होल’बाट प्रतिस्पर्धा गर्न नसक्नेहरूका लागि छुट्याएको कोटामा प्रतिस्पर्धाका लागि सक्षम र सक्नेहरू तीनपटकसम्म सांसद/मन्त्री भइरहेका छन् । अब यसलाई रोक्नुपर्छ ।’
उनले सरकारी सेवामा विकट गाउँका गरिब बाहुन, मधेशी, जनजाति र कर्णालीजस्ता पिछडिएको क्षेत्रका लागि छुट्याइएको आरक्षण काठमाडाैंसहित सहरका निजी स्कुल र क्याम्पसमा पढ्नेहरूले लिन नहुनेमा जोड दिए । अवसर पाएका र नपाएकाहरूबिच प्रतिस्पर्धा गराइन नहुने भन्दै पुनले अवसर पाउने–पाउने र नपाउने–नपाउनेबिचको प्रतिस्पर्धा मात्र न्योचित हुने चर्चा गरे । पुनले आफू जनजाति समुदायको भए पनि आफ्ना छोराछोरीले कोटाबाट सरकारी सेवामा प्रवेश गर्न नमिल्ने तर्क गरे ।
‘म मन्त्री भएको छु । मेरो छोराछोरीले काठमाडाैंमा पढेका हुन् । उनीहरूले जनजाति कोटामा सरकारी सेवामा जाने होइन, प्रतिस्पर्धा गर्नुपर्छ,’ पुनले भने, ‘गाउँका गरिब बाहुन–क्षेत्रीको छोराछोरी, पछिपरेका मधेशी र जनजातिका छोराछोरी र वा कर्णालीको कोटामा आर्थिक र राजनीतिक पहुँचमा भएकाहरूका छोराछोरीले प्रतिस्पर्धा गर्न नसक्नेका लागि छुट्याइएको कोटाबाट अवसर लिन मिल्दैन ।’