Thursday 6 February 2025 / बिहीबार, २४ माघ २०८१

काठमाडौँ, काठमाडौं महानगरपालिकाले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घरोगसम्बन्धी औषधिको लगत संकलन गरिरहेको जनाएको छ ।महानगरमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई कस्तो किसिमको रोग लागेको छ र उनीहरूलाई कस्तो औषधि दिन सकिन्छ भन्ने जानकारी लिनका लागि लगत संकलन गरिरहेको महानगरअन्तर्गतको स्वास्थ्य विभागको भनाइ छ । उनीहरूलाई औषधिको उपलब्धता सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित गत पुस २२ गतेदेखि परिपत्र गरी लगत संकलन गरिरहेको विभागले जनाएको छ ।‘कामपामा रहेको ३२ वटै वडाको विवरण प्राप्त भएपछि उहाँहरूको स्वास्थ्य प्रवर्द्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुनेछ,’ विभागका प्रमुख दीपक केसीले भने ।

मेडिकल अधिकृत डा. दिवस न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोबाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । अहिलेसम्म एक हजार ४९६ जनाको विवरण प्राप्त भइसकेको छ । उनीहरूमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् । महानगरपालिकाभित्रै बसोबास गरिरहेका ७० वर्ष उमेर पूरा भएका नागरिकले परिवारका सदस्य वा सहयोगीमार्फत नजिकैको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा विवरण टिपाउन सकिने महानगरको भनाइ छ । विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ३७ हजार ६५४ छ । ७० वर्ष उमेर पूरा भएकाको संख्या २३ हजार ७७० छ । महानगरको विवरणमा ११० वर्ष उमेरको व्यक्तिसमेत भएको तथ्यांक छ ।

साथै सय वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ४७ छ । साथै ९० देखि ९९ वर्षसम्मका ८६४, ८० देखि ८९ वर्षसम्मका पाँच हजार ४८३ र ७० देखि ७९ वर्षसम्मका व्यक्तिहरूको संख्या १७ हजार ३७४ छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय