Thursday 6 February 2025 / बिहीबार, २४ माघ २०८१

लमजुङ, पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार एक सय ९७ वटा मौरीका घारबाट एक सय २९ दशमलव १७ टन मह उत्पादन भएको छ जिल्लामा किसानले यस वर्ष रु एक हजार पाँच सयका दरले बिक्री गरेको बताएका छन् । जिल्लामा किसानले यस वर्ष मह बिक्रीबाट रु १८ करोड आम्दानी गरेको उहाँको भनाइ छ । यस्तै, गत वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट एक सय ११ दशमलव तीन टन मह उत्पादन भएको थियो । गत वर्ष प्रतिकिलो मह रु नौ सयदेखि एक हजारसम्ममा बिक्री भएको थियोभने मह बिक्रीबाट रु नौ करोडभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

विसं २०७९ मा १० हजार २५ मौरीका घारबाट ३२ टनमात्र मह उत्पादन भएको थियो । विसं २०७८ मा ११ हजार पाँच सय मौरीका घारबाट ३० टन मह उत्पादन भएको थियो । यस्तै २०७७ सालमा ११ हजार सयवटा मौरीका घारबाट ३८ टन मह उत्पादन भएको थियो । केन्द्रका अनुसार २०७६ सालमा नौ हजार पाँच सय मौरी घारबाट ३४ टन तथा २०७५ सालमा पाँच हजार नौ सय मौरीका घारबाट ३२ टन मह उत्पादन भएको थियो ।जिल्लामा यस वर्ष सबैभन्दा बढी सुन्दरबजार नगरपालिकामा मह उत्पादन भएको छ । यहाँ चार हजार पाँच सय घारबाट ३६ हजार केजी उत्पादन गरेको र यसबाट रु पाँच करोड ४० लाख आम्दानी भएको सूचना अधिकारी थापाले बताउनुभयो । जिल्लामा उत्पादित मह काठमाडौँ, पोखरा, चितवनलगायत बजारमा खपत हुँदै आएको छ ।

जिल्लाका किसानले आधुनिक मौरी घार र प्रविधिको प्रयोगबाट मह उत्पादन गर्न थालेका छन् । नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखाका अनुसार लमजुङको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका छन् । शाखामा जिल्लाका तीन सय ८२ जनाभन्दा बढी मौरीपालक किसान आबद्ध छन् । पछिल्लो समयमा जिल्लामा मह उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताउनुभयो, उत्पादन बढ्नुका कारण पहिला सौखले मौरीपालन गरिन्थयो भने अहिले बुझेर मौरीपालन गर्न थालेका छन् । पहिला मौरीपालनसम्बन्धी नबुझी गरेको र अहिले विभिन्न निकायले यससम्बन्धी तालिम प्रदान गरेकाले, मौरी चरन क्षेत्र राम्रो तथा पर्याप्त, हावापानी राम्रो, आधुनिक घारको प्रयोगलगायत कारणले मह उत्पादन बढ्दै गएको उहाँको भनाइ छ ।

जिल्लामा शेरना प्रजाति मौरीको मह उत्पादन गर्ने गरेको र यसले प्रतिघार पाँचदेखि १० केजीसम्म मह उत्पादन गर्ने कृषि ज्ञान केन्द्र प्रमुख खतिवडाले बताउनुभयो । कार्यालयले यस वर्ष एक सय २५ वटा मौरीका घार किसानलाई अनुदानमा वितरण गरेको थियो । कार्यालयबाट मौरीपालनलगायत कृषि क्षेत्रका किसानका लागि विभिन्न शीर्षकमा बर्सेनि रु साढे तीन करोड खर्च गर्दै आएको केन्द्रले जनाएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय