Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौँ- नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।
आजै सम्पन्न एमालेको स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतालाई यसअघि गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेपछि शीर्ष तहमा संवादको वातावरण बनेको हो ।

असन्तुष्ट नेपाल पक्षले पार्टीलाई नवौँ महाधिवेशनपछिको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्नुपर्ने अडान राख्दै आएको छ । भेटवार्ता बूढानीलकण्ठस्थित एक निजी घरमा भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । शीर्ष तहको भेटवार्ताले एकता जोगिने आशा पलाएको नेताहरुले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

नयाँ सरकार गठन र पार्टीभित्रको विवाद व्यवस्थापनलगायत विषयमा छलफल गरी स्थायी कमिटीले निकासका लागि उपयुक्त निर्णय लिन अध्यक्ष ओलीलाई अधिकार प्रत्यायोजन गरेको थियो ।
यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिनुभएको छ ।

नेपालसहितका २८ सांसद वैशाख २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको थियो । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारीसमेत भएकामा नेताहरुको संवादसँगै अब उक्त कदम नहुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय