Monday 12 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउने बताउनुभएको छ । तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभयो ।उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सबै प्रकारका विभेदको अन्त्य गरी वैज्ञानिक समाजवाद कार्यान्वयनको खाँचो औँल्याउनुभयो ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार पर्वमा सो समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरणसहित आपसमा खुसी आदानप्रदान गर्ने प्रचलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय