दरबारमार्ग स्थित होटल याक एण्ड यतिको रिगलबल रुममा भव्य रुपमा सजाइएको रनवे सेट अपमा फेसन र मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउने चाहाना बोकेका ३३ जना युवती र १७ जना युवाहरुको जोडदार प्रस्तुतिकावीच जोय मोडल हन्ट नेपालको नवौं संस्करण सम्पन्न भएको छ । फेसन, स्टाइल, ग्ल्यामर अभूतपूर्व समायोजन अनुभव गर्न पाइएको नेपालकै वृहत् एवं प्रतिष्ठित उक्त मोडलिङ प्रतियोगितामा पुरुष तर्फ विवश विष्ट महिलातर्फ नेहा बुढाले शीर्ष उपाधि जित्न सफल भएका थिए । विजेता दुवै जनाले विभिन्न पुरस्कार उपहारका साथमा क्याम्बोडियामा संचालन हुने मिष्टर एण्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२५ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर पनि जुराएका छन् । प्रतियोगितामा आदित्य थपलिया र मोना के.सी. फस्ट रनर अप तथा एलेन डंगोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनर अप चयन भएका थिए । प्रतियोगिताको टप फाइभसम्मको यात्रामा पुरुष तर्फ मनिश गौतम र प्रसुन कुमार तथा महिला तर्फ पूजा सिंह राजपूत र रानी खड्का पुगेका थिए ।

स्मृति लम्साल, सिला र कासा जस्ता नेपालकै कहलिएका डिजाइनर ब्राण्डलाई पहिरिएर सहभागि युवतीहरु तथा ब्ल्याकबेरिज् र क्यान्टाविल जस्ता अन्तर्राष्ट्रिय ब्राण्ड पहिरिएर सहभागि युवाहरुले प्रतियोगिताको प्रारम्भिक चरणमा आ आफ्नो दबदार प्रस्तुति दिएका थिए । सहभागि धेरैजनाको पहिलो रनवे उपस्थिति भएता पनि उनीहरुको रनवे पर्पmमेन्स व्यवसायिक एवं अनुभवी मोडलहरुको भन्दा कमको देखिएको थिए । रनवे पर्फमेन्समा उनीहरुको आत्मविश्वास, स्टाइल, प्रस्तुति हेर्न लायकको देखिएको थियो । प्रतियोगिताको उत्कृष्ट बाह्र सम्म पुगेका महिला सहभागिहरु र उत्कृष्ट आठ भित्र पर्न सफल पुरुष सहभागिहरुले भने डिजाइनर मनिश राईले तयार पारेका पहिरनमा आ आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगिता त्यस पछि पुरुष र महिला दुवै तर्फ उत्कृष्ट पाँच छानिंदै विजेता उपविजेता चयन संगै भव्य रुपमा सम्पन्न भएको थियो ।

तीन घण्टा सम्मको चलेको उक्त प्रतियोगितात्मक कार्यक्रमको आयोजना नेक्स्ट मोडल्स नेपालको गरेको थियो भने कार्यक्रमको निर्देशन रवि धमला र यतना पाण्डेले गरेका थिए । कार्यक्रमको कोरियोग्राफीको अविभारा सुपर मोडल सविता कार्कीले सम्हालेकी थिइन् भने कार्यक्रमको संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । प्रतियोगितामा आवरण मोस्ट स्टाइलिस अवार्ड मनिश गौतम र जेनिता सेन्चुरीले प्राप्त गरे भने केएफसी वेष्ट पर्सनालिटी विधामा सुजल श्रेष्ठ र डा. अनिमा भण्डारी उत्कृष्ट ठहरिए । रियलमी वेष्ट वाक विधामा छेवाङ शेर्पा र पूजा सिंह राजपूत बाजी मार्न सफल भए भने द वीच हाउस पब्लिक च्वाइस तर्फ आदित्य कौशल र सारु कार्कीडोली परियार विजेता बने । आर्टेसियम प्रा्ेडक्सन मोस्ट फोटोजेनिक तर्पm प्रसुन कुमार र अनुजा पौडेल, रिगाल फिटनेस मोडल तर्फ आयन चौधरी र वेष्ट फिगरमा नेहा बुढा विजेता चयन भएका थिए । विवश विष्ट र चाँदनी श्रेष्ठले क्यान्टाविल टप मोडलको अवार्ड प्राप्त गरे भने खल्ती मोष्ट पपुलर विधामा कृतिका खड्का र खेमराज पोखरेल विजयी चयन भए ।

जोय मोडल हन्ट नेपालको नवौं संस्करणको फाइनल प्रतिस्पर्धाको मुल्यांकनको अविभारा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ, मिष्टर नेपाल २०२४का विजेता सन्तोष लोक्सम लिम्बु, जोय कस्मेटिक्सका नेपाल प्रमुख मदन रौनियार, फेसन कोरियोग्राफर मनिश राई तथा सुपरमोडल एवं फेसन कोरियोग्राफर आस्था पोखरेलले सम्हालेका थिए ।


