Saturday 11 April 2026 / आईतवार, २९ चैत्र २०८२

काठमाडौँ, कुस्मास्थित द क्लिफमा नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो)का प्रशिक्षार्थीले बञ्जी जम्प गरेका छन् । तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले जानकारी दिनुभयो । “जस्तोसुकै अवस्थाका लागि कमाण्डोलाई तयार गर्न साहसिक गतिविधिमा संलग्न गराइएको हो”, प्रहरी वरिष्ठ उपरीक्षक जबराले भन्नुभयो, “द क्लिफसँग केही वर्षदेखि हामीले सहकार्य गर्दै आएका छौँ ।” उहाँका अनुसार १०६ जना प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका हुन् ।

नेपाल प्रहरीले तालिमका क्रममा प्रशिक्षार्थीहरुलाई विभिन्न साहसिक खेलमा सहभागी गराउँदै आएको छ । यसअघि पनि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले तालिमका क्रममा द क्लिफमा बञ्जी जम्प गरिसकेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयो । “हामी पनि नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी छौँ, आगामी दिनमा पनि यसप्रकारको सहकार्यलाई निरन्तरता दिनेछौँ”, उहाँले भन्नुभयो ।राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ । बन्जी र स्वीङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज पनि छ ।

इन्फिनिटी स्विमिङ पुल र सम्मेलन हल निर्माणाधीन छन् । क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, मेगा ट्रोल, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत गतिविधि सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय