एजेन्सी – एट्लेटिको म्याड्रिडले आइतबार डिपोर्टिभो एलाभेसलाई २–१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ ।
उरुग्वेली फरवार्ड लुइस सुआरेजको एक गोल र सहयोगमा १० खेलाडीमा समेटिएको एलाभेसलाई पराजित गरेको हो ।
जितपछि एट्लेटिको रियल म्याड्रिडलाई २ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ ।एट्लेटिकोको १५ खेलबाट ३८ अंक तथा रियलको १७ खेलबाट ३६ अंक छ । पराजित एलाभेस १८ अंकसहित १४औं स्थानमा छ ।
एलाभेसको मैदानमा भएको खेलमा एट्लेटिकोले खेलको ४१औं मिनेटमा मार्कोस लोरेन्टेको गोलबाट अग्रता लिएको थियो । फल खेलेको कारण ६३औं मिनेटमा एलाभेस १० खेलाडीमा समेटियो । थोमस लेमारलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै भिक्टर लगाउरडियालाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो ।
एक गोलले पछि परेपनि घरेलु टोलीले ८४औं मिनेटमा खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । तर ९०औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २–१ को संघर्षपुर्ण जित दिलाए ।