Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा भव्य रूपमा सम्पन्न भयो। काठमाडौंस्थित हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न भएको यस २०२५ संस्करणको कार्यक्रमले फेसन, मनोरञ्जन र सामाजिक सेवामा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्य राखेको थियो। यस विशेष कार्यक्रममा करिब डेढ दर्जन विभिन्न व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरियो। तीमध्ये फेसन मोडलिङ, सौन्दर्य प्रतियोगिता, फेसन डिजाइन र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरू रहेका थिए। नेपाल तथा विदेशमा बसेर नेपाली कला, संस्कृति र समाजमा सकारात्मक प्रभाव पार्ने कार्यहरूका लागि यो सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा एनआरएनए जापानका अध्यक्ष नविन न्युरे सहभागी थिए। त्यस्तै, नेप्लिज बिजनेस एशोसिएसन जापानका अध्यक्ष बिजेश थकाली विशेष अतिथिको रूपमा सहभागी थिए। साथै, व्यवसायी मनिस मगर र सुरेन्द्र खड्का पनि विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको मुख्य आकर्षणमध्ये एक थियो फेसन शो, जसमा मोडलहरूले फ्युजन शैलीको पहिरनमा र्याम्प नापेका थिए। उक्त फेसन शोको कोरियोग्राफी हिमालयन मुभिजकी सीईओ र चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन्। कार्यक्रमको मध्यवर्ती समयमा उनी स्वयं पनि आकर्षक पहिरनमा स्टेजमा प्रस्तुत भइन् र दर्शकहरूको ध्यान तानिन्।

सम्पूर्ण कार्यक्रमको फोटोग्राफी र मिडिया कभरेज जापान निवासी फोटोग्राफर गणेश थापा मगरले गरेका थिए। उनले कार्यक्रमको सम्पूर्ण दृश्यहरू कैद गर्दै दर्शक र सहभागीहरूलाई सम्झनायोग्य बनाइदिए। कार्यक्रममा विभिन्न श्रेणीमा विशेष सम्मान अवार्डहरू पनि प्रदान गरिएको थियो। एनआरएनए जापानका अध्यक्ष नविन न्युरेलाई बेस्ट नेपाली सोशल क्याम्पेनर, बिजेश थकालीलाई बेस्ट सोशल वेलफेयर एक्टिभिस्ट, मनिस मगरलाई बेस्ट नेपाली फरेन इन्टरप्रेन्योर, र गणेश थापा मगरलाई बेस्ट नेपाली फरेन फोटोग्राफर को अवार्ड प्रदान गरिएको थियो। साथै, सौन्दर्य, फेसन डिजाइन, मोडलिङ र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याउने अन्य प्रतिभाहरुलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय