Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौँ, जेठ २३ गते शुक्रवार साउथवेस्टन साहित्य समाजद्वारा आयोजित पिपल चौतारी गजल साँझ भब्यरुपमा सम्पन्न भयो । यस साँझमा ३० जना गजलकारले गजल वाचन गर्नुभएको थियो ।

वरिष्ठ गजलकार रामबहादुर पहाडीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम साच्चिकै गजलमय भएको थियो। शिक्षाप्रेमी एवम् साउथवेस्टन स्टेट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी विशिष्ट अतिथि रहनुभएको सो कार्यक्रम जति साँझ छिप्पिदै थियो त्यति कार्यक्रम सङ्गीतमय भएको थियो। साउथवेस्टन साहित्य समाजले प्रत्येक वर्ष यस कार्यक्रमको आयोजना गर्ने गर्दछ।

त्यसैको यो निरन्तरता थियो। धमेन्द्र अोझा , ललिजन रावल, सन्तोष श्रेष्ठ जस्ता विशिष्ट गजलकारको सो कार्यक्रममा उपस्थिति रहेको थियो। सो कार्यक्रममा विदुर तिमल्सिना, विमला दाहाल, सिद्धनारायण आचार्य, देविरमण तिवारी, सङ्गिता थापा, रसिक, विपिन मर्म, देवेन्द्र केसी, दिपेश घिमिरे, अर्जुन अन्योल, सुनिल अधिकारी, भुवन निस्तेज, सुशिला धमला, गणेश खतिवडा, एन बि जनकपुरे, टेकनाथ कोइराला, विमुस पौडेल, उत्तम विचार, डा. विष्णु न्यौपाने, घनेन्द्र ओझा, गणेश महरा, उदास कार्की, ललितजङ रावल, रेणुका भण्डारी, सन्तोष श्रेष्ठ लगायतका गजलकारहरूले गजल वाचन गर्नुभएको थियो।

गजलमा हाँस्य हुँदैन, गजलमा त संवेदना, हार्दिकता, कोमता हुनुपर्छ भन्दै गजलको छोटो परिचय धर्मेन्द्र अोझाले दिनुभयो। यसैगरी वरिष्ठ गजलकार ललिजन रावलले प्रणय र प्रेम मात्रै गजल होइन गजल त प्रणय र प्रेमसँगै जीवनका विभिन्न पाटा समेटिनुपर्छ भन्नुभयो। सङ्गीतकार सन्तोष श्रेष्ठले लेखनाथ पौड्यालको हे मातृभूमि तिम्रा हामी सबै पुजारी…. बोलको गजल गाउनुभएको थियो। उहाँले सो गजल गाउँदा पिपलबोटका पात समेत मन्त्रमुग्ध भएझैँ लाग्दथ्यो ।

साउथवेस्टन स्टेट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसीले पिपल चौतारी सबैको साझा चौतारी भएकोले मनका धनीहरू जम्मा भई सुख दु:ख बाँढ्न सकिने बताउनुभयो। साउथवेस्टन साहित्य समाजका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षतामा सो कार्यक्रम भएको थियो। सो कार्यक्रममा रेणुका भण्डारीले सबै आगन्तुकहरुलाई पिपल चौतारी गजल साँझमा स्वागत गर्नुभएको थियो। गजलकार एच के लामिछानेले सो कार्यक्रम सञ्चालन गर्नुभएको थियो। प्रमुख अतिथि रामबहादुर पहाडीले गजलमा सङ्गीत, स्वर र शब्द हुनुपर्छ भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय