Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, स्थापित लोकदोहोरी गायिका लक्ष्मी न्यौपानेले मौलिक तीज गीत सार्वजनिक गरेकी छन्। उनले शुक्रबार बिहान आफ्नै अफिसियल युट्युबबाट ‘म त मसक्कै’ बोलको गीत स्रोता तथा दर्शकमाझ ल्याएकी हुन्। यसमा लक्ष्मीको संगीत र स्वर छ। श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको गीतका शब्द लक्ष्मी र शारदा न्यौपाने बस्यालको हो।

‘म त मसक्कै’ लक्ष्मीको दुई दशकअघि सार्वजनिक चर्चित तीज गीत हो। वि।स। २०६० सालमा पहिलो रेकर्डिङ भएको गीतलाई लक्ष्मीले दुई दशकपछि फेरि पुनर्जिवन दिने प्रयास गरेकी हुन्। यो गीत सुन्दा स्रोतारदर्शकले पुरानो यादलाई ताजा महसुस गर्नेछन्। ‘म त मसक्कै’ गीतको भिडिओमा सागर लम्साल र अञ्जली अधिकारीसँगै गायिका लक्ष्मीकी छोरी निहारिका रेग्मी पनि फिचर्ड छिन्। लक्ष्मीले आफ्नो यो गीतबाट छोरीलाई अभिनयमा डेब्यु गराएकी हुन्। यसअघि लक्ष्मीले आफ्नो गीतमा छोरीले नृत्य गरेका भिडिओ सामाजिक संजालमा सार्वजनिक गर्दै आएकी थिइन्, जसका धेरैले नृत्यको तारिफ गर्दै भिडिओमा अभिनय गराउन सुझाव समेत दिन्थे।

लक्ष्मी न्यौपाने झण्डै तीन दशकदेखि गायनमा सक्रिय छिन्। दर्जनौं हिट लोकदोहोरी गीतमा स्वर दिएकी उनका ‘टलटल टलिकनलाई’, ‘तीज आयो राजै’, ‘झल्को माइतीको’जस्ता तीज गीतहरू रूचाइएका छन्। पछिल्ला वर्ष पनि उनले तीज गीतलाई निरन्तरता दिइरहेकी छन्। त्यसैको सिलसिलामा म त मसक्कै ल्याएकी हुन्। यसमा तीजको सांस्कृतिक र सामाजिक पक्षलाई समेट्दै महिलाहरूको उमंग र उत्साहलाई दर्शाउने प्रयास गरिएको छ। भिडिओको कोरियोग्राफी तथा निर्देशन स्मृति तिमिल्सिना ‘गुरूआमा’ को हो। छायांकन बुद्ध थापा तथा सम्पादन नवीन घर्ती मगरले गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय