काठमाडाैं, अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने राष्ट्रिय टोलीको बिदाइ गरेको छ । नेपाल छनोट प्रतियोगिताको समूह ‘ए’मा छ । उक्त समूहमा नेपालका अतिरिक्त भुटान, उत्तर कोरिया र साउदी अरेबिया पनि परेका छन् । समूह ‘ए’को सबै खेल भुटानमा खेलिने छ ।नेपाली टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, एन्फाका महासचिव किरण राईलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
प्रतियोगितामा नेपाली टोलीले आफ्नो पहिलो खेल अगस्ट ६ तारिखमा आयोजक भुटानसँग खेल्नेछ । आफ्नो दोस्रो खेलमा नेपाली टोलीले अगस्ट ८ तारिखमा साउदी अरेबियाको सामना गर्नेछ । यसैगरी, नेपाली टोलीले आफ्नो तेस्रो खेल अगस्ट १० तारिखमा उत्तर कोरियासँग खेल्नेछ । मंगोलिया पनि यही समूहमा थियो । तर, मंगोलियाले प्रतियोगितामा सहभागिता नजनाउने भएको छ ।
समूहगत चरणको खेलपछि तालिकाको पहिलो स्थानमा रहने टोली सन् २०२६ को अप्रिल १ देखि १८ तारिखसम्म थाइल्यान्डमा आयोजना हुने महिला एसियन कपमा छनोट हुनेछ ।थाइल्यान्डमा आयोजना एसियन कपमा कूल १२ टोलीको सहभागिता रहने छ । आयोजकका नाताले थाइल्यान्ड स्वतस् प्रतियोगितामा छनोट भइसकेको छ । अब ११ स्थानका लागि ३३ टोलीबीच भिडन्त हुँदैछ । छनोट प्रतियोगिताको आठवटै समूहका विजेता सिधै एसियन कपमा पुग्नेछन् । त्यसपछि आठवटै समूहमा दोस्रो हुने टोलीमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा तीन टोलीले पनि एसियन कपमा स्थान बनाउने छन् ।


