Saturday 17 October 2026 / आईतवार, २ कार्तिक २०८३

जनक श्रेष्ठ (रासस)

लमजुङ, लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेँसीशहर नगरपालिका–६ चनौटेमा बस्दै आउनुभएका ३६ वर्षीय उमा गुरुङ आफ्नो घरको पालिमा बनाइएको एक कोठामा छोरी श्रृतीसित सुत्ने गर्नुहुन्छ ।

उमा सँधै बिहान उठेर घरधन्दा गर्नुहुन्थ्यो तर बुधबार बिहान अवेरसम्म सुतिरहनुभयो । घरमा भएको उमाकी आमा उठेर घरधन्दा गर्न लाग्नुभयो । छोरी श्रृती भने मनिङवाकमा जानुभयो । उमा भने मस्त निन्द्रमै हुनुहुन्थ्यो ।

छोरी निस्किएको एक मिनेटमै अर्थात् ५ बजेर ४२ मिनेटमा लमजुङ मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दू बनाएर ५ दशमलव ८ रेक्टरको भूकम्प गयो । निन्द्रमै भएकी उमालाई घरको पुतली गाह्रो भत्किएर ढुंगामाटा हित खस्दा पालिमा रहेका जस्तापाता र ढुंगामाटाले पुर्यो । ‘‘शरीर पुरिनै लाग्दा बल्ल थाहा पाएछु ।’’ उहाँले रासससँग भन्नुभयो, ‘‘एकछिन त आत्तिएँ । मुखैभरी माटाले भरिएको थियो । बोल्न त के श्वास फेर्न पनि सकिएन ।

विस्तारै हातले अनुहारको केही माटा हटाउन सके अनि अल्लि बोल्न भयो । अब त मर्ने भएँ । म परेपछि मेरा सन्तान के गर्लान् भन्ने पीर लाग्यो । त्यसपछि झन् आत्तिएँ ।’’ उहाँले छिटो मलाई उद्धार गर भनेर चिच्याएपछि स्थानीयवासी छोराछोरी आएर उद्धार गरेका थिए ,

‘‘ठूलो दशाग्रह लागेको रहेछ तर भाग्य बलियो भएर बाँचे’’ उमाले भन्नुभयो । उहाँको पाँच जनाको परिवार छ । सो दिन उमाका श्रीमान कामको शिलशिलामा मनाङ जाने भनेर चाँडै उठेर जीप चलाएर सामानसहित मनाङतर्फ जाँदै हुनुहुन्थ्यो । सोही भूकम्प गएको केन्द्रबिन्दू आसपासमा पुग्दै गर्दा श्रीमती घाइते भएको खबर आएपछि जीप साथीलाई चलाउन दिएर फर्किएको उहाँले बताउनुभयो । आमाले भूकम्प आएको थाहा पाउना साथ उमालाई भन्दा उमाको जेठी छोरी सुतिरहेकाले भित्र उठाउन गएको र छोरीलाई पनि सो घटना हुनबाट बचाउन सफल हुनुभएको थियो । उमा उपचारपछि अहिले अस्पतालबाट घर फर्कनुभएको छ ।

उमा यतिबेला उहाँ घर नजिकै सानो बाँसले बारेको कटेजमा बस्दै आराम गरिरहनुभएको छ । उक्त भूकम्पले उहाँ मात्र नभई जिल्लाका पाँच जना घाइते भए । दुई सयभन्दा बढी घरमा क्षति पुग्दा सयौँ स्थानीय मर्कामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय