काठमाडौं, अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आज (बुधबार) आफ्नो पाँचौँ खेल मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्ध खेल्दैछ। खेल बिहान ११:१५ बजे (नेपाली समय) शुरु हुनेछ। यसअघिका चार खेलमा नेपालले एक जित र तीन हार ब्यहोरेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो। तर, मंगलबार नेपालले शानदार प्रदर्शन गर्दै होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको थियो।
अहिले अंक तालिकामा नेपाल ११ टोलीमध्ये नवौँ स्थानमा रहेको छ। यसैबीच, मेलबर्न रेनेगेड्स एकेडेमीले तीन खेलमध्ये दुई खेल जितेर चार अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले सिरिजको अन्तिम खेल आगामी शुक्रबार पाकिस्तान शाहिन्स विरुद्ध खेल्नेछ।
नेपाल टोली :
रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, अरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रूपेशकुमार सिंह, सोमपालKami, नन्दन यादव, करण केसी, ऋजन ढकाल, लोकेश बम र साहब आलम।


