काठमाडौं, अभिनेत्री केकी अधिकारी अभिनीत फिल्म ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि उनको चर्चा र व्यस्तता थप बढेको छ। उनका एकपछि अर्को फिल्म प्रदर्शनको तयारीमा रहेका छन्। यही शुक्रबारदेखि उनको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ। यसमा केकीले मुख्य पात्र विजय बरालको दिदीको भूमिका निभाएकी छन्।
फिल्ममा उनले भाइको सुखका लागि श्रीमानको दमन र खप्की सहेर बस्ने दयालु दिदीको पात्र निर्वाह गरेकी छन्। आफ्ना सपनाहरू बिर्सेर अरूको खुसीका लागि बाँच्ने त्यस्तो पात्रलाई फिल्मको ट्रेलरमै देखाइएको छ।
भूमिकाबारे कुरा गर्दै केकी भन्छिन् :
“म सानो उमेरमै ठूलो सपना बोकेर काठमाडौं आएकी गाउँकी युवतीको भूमिकामा छु। तर, समय र परिस्थितिले उसलाई त्यस्तो मोडमा पुर्याउँछ, जहाँ आफ्नै सपना पनि याद रहँदैन। त्यस्ता धेरै महिला काठमाडौंमा हुनुहुन्छ। त्यसमध्ये एक महिलाको प्रतिनिधित्व गर्ने पात्र मैले निभाएकी छु।”
फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन्। यसमा केकी र विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहारी, रियर राई लगायतका कलाकारको अभिनय छ। कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेका यस फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।
देशभरका हलहरूले फिल्मको अग्रिम टिकट बुकिङ सुरु गरिसकेको जनाइएको छ।


