टोकियो, जापानका प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच शनिबार टोकियोमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग विस्तार गर्ने सहमति भएको छ।
जापानद्वारा कोरियाली प्रायद्वीपमा गरिएको ऐतिहासिक कब्जा र जबर्जस्ती श्रम प्रयोगका कारण लामो समय तनावपूर्ण रहेको सम्बन्ध पछिल्ला वर्षहरूमा उत्तर कोरियाको आणविक खतराका बीच क्रमशः नजिकिएको छ।
बैठकपछि जारी संयुक्त वक्तव्यमा दुई मुलुकबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै टोकियो–सियोल–वासिङ्टन त्रिपक्षीय सहकार्यको महत्व बढ्दै गएको उल्लेख गरिएको छ। सन् १९६५ मा कूटनीतिक सम्बन्ध सामान्यीकरण भएपछि पहिलोपटक दक्षिण कोरियाली राष्ट्रपतिले जापानलाई आफ्नो पहिलो द्विपक्षीय भ्रमणका लागि रोजेका हुन्। राष्ट्रपति लीले यसलाई जापान–दक्षिण कोरिया सम्बन्धप्रति दक्षिण कोरियाको उच्च प्राथमिकताको संकेत भएको बताए।
भेटमा दुबै नेताले प्रतिरक्षा, आर्थिक सुरक्षा र कम जन्मदरजस्ता सामाजिक चुनौतीहरूबारे पनि विस्तृत छलफल गरेका थिए।


