गाजा, गजाको दक्षिणी सहर खान युनिसस्थित नासेर अस्पतालमा सोमबार साँझ इस्रायलले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना पत्रकार रहेका अन्तर्राष्ट्रिय समाचार एजेन्सी र स्थानीय स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्। रोयटर्सका अनुसार, आक्रमण अस्पताल परिसरको त्यस्तो क्षेत्रमा गरिएको थियो जहाँ ठूलो संख्यामा विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिएका थिए।
मृत पत्रकारहरूमा रोयटर्सका फोटोग्राफर होसम अल–मसरी, अल–जजिराका फोटो पत्रकार मोहम्मद सलामा, स्वतन्त्र पत्रकार मरियम अबु दक्का र मोआज अबु ताहा, साथै स्थानीय समाचार एजेन्सीका पत्रकार अहमद अबु अजिज रहेका छन्।गजास्थित स्वास्थ्य मन्त्रालयले आक्रमणमा दर्जनौं घाइते भएको जनाएको छ। मन्त्रालयले यस घटनालाई ‘भयानक नरसंहार’ को संज्ञा दिँदै अस्पताल र स्वास्थ्यकर्मीलाई लक्षित गरिएको आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको ठाडो उल्लङ्घन भएको जनाएको छ।
यस आक्रमणप्रति अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा भइरहेको छ। अस्पताल तथा सञ्चारकर्मीहरूलाई लक्षित आक्रमणमाथि छानबिन गर्नुपर्ने आवाज समेत उठेको छ।


