काठमाडौँ, अभिनेता अनमोल केसी अभिनीत फिल्म जेरीस् अन टपको टिजर सार्वजनिक गरिएको छ।सुयोग गुरुङ निर्देशित फिल्म सगरमाथा आरोहण र त्यहाँको पदयात्राको क्रममा फस्टाउने प्रेमकथामा आधारित छ। करिब दुई मिनेट लामो टिजरमा साहसिक दृश्यसँगै सम्बन्ध, धोका, संवेदना, ड्रामा र एक्सनलाई समेटिएको छ।
टिजरमा अनमोलसँगै जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीको उपस्थिती छ। भुवनले अनमोलका बुवाको भूमिका निभाएका छन्। आकर्षक छायांकन र उच्च प्रोडक्सन भ्यालुले टिजरलाई ‘लार्जर देन लाइफ’ देखाएको छ।
फिल्मको पटकथा हेमराज बीसीले लेखेका हुन्। सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले निर्माण गरेका जेरीस् अन टपलाई रोमान्टिक ड्रामा जनरामा राखिएको छ। फिल्मको छायांकन सगरमाथा, मुस्ताङ र काठमाडौंमा गरिएको हो।
फिल्म तिहार छेकोमा आगामी असोज ३१ (अक्टोबर १७) मा प्रदर्शनमा आउँदैछ।


