Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडौँ, नयाँ नेपाली फिल्म ‘कोशेढुंगा’ आज (बिहीबार)देखि देशभरका केही हलमा प्रदर्शनमा आएको छ। सामान्यतया शुक्रबार रिलिज हुने परम्परा भए पनि तीजको अवसर पारेर फिल्म बिहीबारमै रिलिज गरिएको हो।तर, गतसाता रिलिज भएका ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ सहित केही हिन्दी फिल्मले मल्टिप्लेक्स तथा हलहरूमा ठाउँ ओगटेकाले ‘कोशेढुंगा’लाई सबै हलमा एकल प्रदर्शनको अवसर मिलेको छैन।

फिल्मलाई ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन्। बुधबार साँझ काठमाडौँमा गरिएको प्रिमियरमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको थियो। विशेषगरी तीजको लागि तयार पारिएको गीत *‘नत्र भने जिन्दगी व्यर्थ छ है बाटुली’*ले दर्शकमाझ चर्चा बटुलेको छ।कथा वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई बिना दोष अपराधी ठहराइने र त्यसको असर परिवारले भोग्नुपर्ने परिस्थितिलाई घुमेको छ। साथै, फिल्ममा ‘ब्लड मनी’को कथावस्तु पनि जोडिएको छ।

फिल्ममा सुरक्षा पन्त, प्रेविल कँडेल, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ।प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता दिनेश खड्का, छायाङ्कन बाबु श्रेष्ठ, सम्पादन सुरेन्द्र पौडेल, तथा संगीत रिदम कँडेल र आशिष अविरलको रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय